मालढुंगा-बेनीको यात्रा अवधि छोटियो, अब २० मिनेटमै पार

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना अन्तर्गत मालढुंगा-बेनी सडकखण्डको यात्रा अवधि आधाभन्दा धेरै छोटिएको छ ।

मालढुंगा-बेनी करिब १३ किलोमिटर सडक दुई लेनमा स्तरोन्नति भएपछि आवतजावतमा सहजता र यात्राअवधि छोटिएको हो ।

यसअघि मालढुंगा-बेनी सडकको यात्रा गर्न करिब १ घण्टा लाग्ने गरेकोमा अब २० मिनेटमै छोटिएको हो । विगत ५ वर्षदेखि यो सडक जीर्ण हुँदा बेनीबाट रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

मालढुंगा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिब १३ किलोमिटर दुरीको सडकमध्ये करिब २ किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ।

२ वर्ष भित्र सम्पन्न गर्ने गरी वि.सं. २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का पाएको थियो । तर, पटक पटक म्याद थपपछि आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

सडक निर्माण सहज भएसँगै म्याग्दी, मुस्ताङ र पर्वत जाने यात्रुलाई सहज भएको छ । वि. सं. २०५२ सालमा मार्ग खुलेको मालढुंगा-बेनी सडक बेनी सडक २०६८ मा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।


Back_to_top