६० लाखभन्दा कम मूल्यका ३ ‘फोर ह्वील ड्राइभ डबल क्याप पीकअप’

काठमाडौं । पाँच जना मानिस आरामदायी यात्रा गर्न सकिने तथा १ टन सामान पनि ओसार प्रसार गर्न सकिने हुनाले पहाडै पहाड भएको नेपाल जस्तो देशमा फोर ह्वील डबल क्याब पीकअपको राम्रो माग रहेको छ ।

नेपालको वार्षिक भन्सार तथ्यांक अनुसार २ हजार ५०० देखि ३ हजार यूनिटसम्म डबल र सिंगल क्याव पीकअप आयात भएको देखाउँछ । यसले पनि नेपालमा पीकअपको लोकप्रियतालाई मापन गर्छन् ।

त्यसमा पनि संघियतामा गएसँगै स्थानीय सरकारको प्रमुख उद्देश्यनै आफ्नो क्षेत्रमा बाटोको ट्रयाक खोल्ने राखेकाले नयाँ ठाँउमा बाटोहरु खुलेका छन् । यस्ता भर्खरै खुलेका बाटोमा फोर ह्वील पीकअप सहजै चलाउन सकिने भएकाले यसको विक्री बढेको हो ।

पहाडी तथा हिमाली क्षेत्रका बाटाहरु कच्ची, उकालो तथा पानी बगेर हिलो हुने भएकोले यस्ता बाटाहरुमा फोर ह्वील ड्राइभ युक्त पीकअपले यातायातको सुविधा समेत दिइरहेका छन् । नेपालमा पैसा भएका निर्माण व्यवसायीदेखि अन्य व्यवसायीको पहिलो रोजाईमा टोयोटाको हाइलक्स पर्ने गरेको छ । तर, टोयोटाका गाडीहरु सबैको बजेटमा नआउने भएकाले कम मूल्यका गाडी खोज्ने गरेका छन् ।

त्यसैले कम मूल्यमा फोर ह्वील ड्राइभ पीकअप खोज्नेहरुको आवस्यकता पुरागर्न भारत र चीनमा बनेका पीकअपहरु आइरहेका छन् । यस्तोमा हामीले यहाँ ६० लाखभन्दा कम मूल्यमा किन्न सकिने केही मोडलका बारेमा चर्चा गरेका छौं ।

१. महिन्द्रा स्कर्पियो पीकअप

महिन्द्राको सफल एसयूभी स्कर्पियोमा आधारित पीकअप नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको डबल क्याव पीकअप हो । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले दुई भेरियन्टमा फोर ह्वील ड्राइभ भएको स्कर्पियो पीकअप विक्री गर्दै आएको छ ।

महिन्द्रा स्कर्पियो पीकअपमा २.२ लिटर फोर सिलिण्डर एमहक डिजल इन्जिन दिइएको छ । स्कर्पियो एस सिक्स र एस टेन भेरियन्ट फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको छ । यसको इन्जिनले १८० बीएच पावर तथा ३२० एनएम टर्क जेनेरेट गर्छ । यसको कार्गो पेलोड १ टन र २.५ टनसम्मको टोइङ क्यापासिटी रहेको छ ।

६ स्पीड म्यानुअल गियरबक्स रहेको यी पीकअपमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । महिन्द्राले यी पीकअपमा सुरक्षाको लागि डियूल फ्रन्ट एयरव्याग, इबीडी सहितको एबीएस, सेन्ट्रल लकिङ सिस्टम आदि रहेका छन् ।

साथै, स्कर्पियो पीकअपमा एयर कन्डिसन, टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, रेनसेन्सीङ वाइपर, अटोमेटीक हेडल्याम्प, थ्रीडी इन्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरले यसलाई अब्बल बनाएको छ । नेपाली बजारमा फोर ह्वील ड्राइभ डबल क्याब स्कर्पियो पीकअप एस सिक्सको मूल्य ४४ लाख १० हजार र एस टेनको ४७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

२. फोटोन टुनल्याण्ड इ पीकअप

एमएडब्लू वृद्धि कमर्शियलले नेपाली बजारमा विक्री वितरण गर्दै आएको फोटोन चिनियाँ कमर्सियल ब्राण्ड हो । आकर्षक डिजाइन तथा फिचर लोडेड भएका कारण फोटोनका पीकअप राम्रो संख्यामा विक्री हुँदै आएको छ ।

फोटोनको टुनल्याण्ड इ मोडल डबल क्याव पीकअप हो । यो पीकअपमा २.८ लिटरको फोर सिलिण्डर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ११३ हर्स पावर र २८० एनएम टर्क जेनेरेट गर्छ । २१० एमएमको ग्राउण्ड क्लियरेन्स तथा फोर ह्वील ड्राइभ अफ्सन दिइएको टुनल्याण्डमा पाँच जना यात्रुले आरामदायी यात्रा गर्न सक्छन् भने १ टनसम्मको कार्गो पेलोड रहेको छ ।

सुरक्षाका लागि यस पिकअपमा दुई एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ, सेन्ट्रल लकिङ आदि रहेका छन् । अन्य फिचरहरुमा पावर स्टेरिङ, एयर कन्डिसन, हिटर, अडियो डिभाइस, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । यसको नेपाली बजारमा मूल्य ५५ लाख ९० हजार रहेको छ ।

३. इसुजु हाइल्याण्डर पीकअप

जापानी कम्पनी इसुजुले भारतमा निर्माण गरेको इसुजु पीकअपको नेपाली बजारमा राम्रो माग रहेको छ । नेपाली बजारको लागि आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले हो । इसुजूको डिम्याक्स सिरीजको प्लेटफर्ममा बनेको यो पीकअप अग्रेसिभ देखिएको छ । यो पीकअपमा २.५ लिटर क्षमताको चार सिलिण्डर डिजेल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले १३४ हर्स पावर तथा ३२० एनएम टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पीड म्यानुयल गियरबक्स, २२० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स र एक हजार ५५ केजीको पेलोड क्यापासिटी रहेको छ ।

सुरक्षाको लागि दुई एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम यसमा पाउन सकिन्छ । त्यस्तै यस पीकअपमा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, एयरकन्डिसन, किलेस इन्ट्री, टिल्ट एड्जस्टेवल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ । नेपाली बजारमा यस पीकअपको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।


Back_to_top