घट्दो टेस्ला, बढ्दो बीवाइडी, हराइरहेको फक्सवागेन

काठमाडौं । विश्वभर इलेक्ट्रीक कारको बिक्रीमा मिश्रित परिणामहरु देखा परिरहेका छन् । न्यू इनर्जी भेहिकल कम्पनीहरु बीच बढ्दो प्रतिस्पर्धाले स्थापित ब्राण्डहरुलाई अफ्ठ्यारोमा परिरहेको देखिन्छ ।

प्योर इलेक्ट्रीक कारमा अहिले पनि टेस्ला विश्वको नम्बर वान ब्राण्ड हो । टेस्लालाई पच्छाइ रहेको बीवाइडीले सन् २०२३ को अन्तिम क्वाटरको बिक्रीमा मात्रै उछिनेको थियो ।

सन् २०२४ लागेसँगै फेरी टेस्ला नै अगाडि देखिन्छ । चालु वर्षको दुई क्वाटरको रिपोर्ट बाहिर आइसकेको छ । उक्त रिपोर्ट अनुसार टेस्लाकोले ६ महिनाको अवधिमा ८ लाख ३० हजार ७६६ यूनिट कार उत्पादन र बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले कम हो ।

तर, चिनियाँ ब्राण्ड बीवाइडीको उत्पादन र बिक्री दुबै वृद्धि भएको छ । बीवाइडीले गत दुई क्वाटरमा ७ लाख २६ हजार १५३ यूनिट इलेक्ट्रीक कार बिक्री गरेको छ । उसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले उत्पादन र बिक्री बढाएको हो ।

तेस्रो स्थानमा रहेको जर्मन जाइन्ट फक्सवागेन ग्रुपले ३ लाख १६ हजार ४३८ यूनिट प्योर इलेक्ट्रीक कार उत्पादन र बिक्री गरेको छ । फक्सवागेनको पनि बिक्रीमा १.४ प्रतिशतले गिरावट आएको हो ।

छ महिनाको रिपोर्ट अनुसार टेस्लाभन्दा बीवाइडीले १ लाख ४ हजार ६१३ यूनिट कम कार उत्पादन र बिक्री गरेको छ । टेस्लाको बिक्रीमा गिरावट आउँदा बीवाइडीले बढाउन सफल भएको हो । फक्सवागन ग्रुपले ठूलो मेहिनत गरेपनि बिक्री बढाउन सकेको छैन ।


Back_to_top