फिचर लोडेड ब्लु सार्क इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । ब्लु सार्क नेपालले नयाँ इलेक्ट्रीक स्कुटर नेपाल ल्याएकाे छ । कम्पनीले नेपालमा पहिलो पटक भइरहेको नाडा इभी शोमा ब्लु सार्क ब्रान्डको आर १ स्कुटर सार्वजनिक गरेको हो ।

स्कुटरलाई नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापा र नाडा इभी एक्सपोका संयोजक अनुप बरालले सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार यो स्कुटर नेपालमा हालसम्मकै सबैभन्दा धेरै फिचर भएको पहिलो स्मार्ट स्कुटर रहेको छ ।

यो स्कुटरमा ५ किलोवाट रेटेड पावर र ३ किलोवाट क्षमताको मोटर रहेको छ । यसले २०१ एनएम टर्क जेनेरेट गर्छ । यो हाल नेपालमा उपलब्ध स्कुटरमध्यकै सबैभन्दा धेरै रहेको कम्पनीको दाबी छ । त्यस्तै यसमा २.८८ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्याक रहेको छ । यसमा रहेको डबल ब्याट्री प्याक रिमुभएवल रहेको छ । यो ब्याट्रीलाई शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्न मात्र ३.५ घण्टा समय लाग्छ । यो स्कुटर एक पटक चार्ज गर्दा १ सय ६० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।

यो स्कुटरमा ब्याट्री प्रोटेक्सनका १५ भन्दा धेरै फिचर रहेका छन् । भोल्टेज ब्यालेन्स, डबल ब्याट्री चार्जिङ मेनेजमेन्ट, वाटरप्रुफ, ओपन सर्किट प्रोटेक्सन, सर्ट सर्किट प्रोटेक्सन, ओभर हिट प्रोटेक्सनजस्ता फिचर यसमा पाउन सकिन्छ ।

त्यस्तै ब्लु सार्क आर १ मा १० इन्चको फूल डिजिटल कलरफूल डिस्प्ले रहेको छ । यसमा फिंगर प्रिन्ट सेन्सरबाट स्टार्ट अनअफ गर्न सकिने फिचर रहेको छ । कम्पनीका अनुसार नेपालमा फिंगर प्रिन्ट सेन्टर भएको यो नै पहिलो स्कुटर रहेको छ ।

सुरक्षा फिचरका रूपमा यो स्कुटरको दुवैतर्फ डिस्क ब्रेक रहेको छ भने यसमा कम्बाइन ब्रेकिङ सिस्टम यसमा उपलब्ध छ । कम्बाइन ब्रेकिङ सिस्टमको मद्दतले जुनै ब्रेक लगाउँदा पनि दुवैतर्फ यसको फोर्स अप्लाइ हुन्छ र ब्रेकिङ सुरक्षा अझै मजबुद हुन्छ ।

त्यस्तै यसमा ७४ वटाभन्दा धेरै सुरक्षा सेन्सर तथा अगाडि तथा पछाडि लाइभ क्यामेरा जडान गरिएको छ । यो स्कुटरको अर्को सुरक्षा फिचरका रूपमा यसको टर्न इन्डिकेटरमा ब्लाइन्ड स्पट क्यामेरा इन्टिग्रेट गरिएको छ । यसको सहायताले मोडमा टर्न गर्दा पछाडिको दृश्य डिस्प्लेमा देख्न सकिन्छ ।

यसमा टर्वो मोडसहित ६ वटा राइडिङमोड उपलब्ध छ । यो इलेक्ट्रीक स्कुटर सेगमेन्टमा नै पहिलो भएको कम्पनीले दाबी गरेको छ । त्यस्तै यसमा अल एलइडी लाइट, एलइडी डीआरएल, अलाय ह्वील, स्मार्ट कनेन्ट फिचर, फोरजी सपोर्ट, स्टेरिओ स्पिकरजस्ता अत्याधुनिक फिचर उपलब्ध छ । ब्लु सार्क आर १ को सुरुवाती मूल्य ४ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरिएको छ । यो मूल्य फेस्टिभ सिजनसम्म लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top