नेपालमा बेच्न थालेको ७ वर्षपछि बन्द भयो बीएमडब्लूका मोटरसाइकल

काठमाडौं । टर्क मोटर्सले बीएमडब्लू नेपालमा सार्वजनिक गरेको ७ वर्षपछि बजारमा उपलब्ध मोटरसाइकलको उत्पादन बन्द भएको छ । भारतमा उत्पादन भएर नेपाल आएका बीएमडब्लूका मोटरसाइकल बन्द भएको हो ।

भारतमा अनवोर्ड डायग्नोस फेज २ (ओबीडी २बी) अनिवार्य गरेसँगै बीएमडब्लूले भारतमा उत्पादन गर्दै आएको जी-३१० सिरिजका मोटरसाइकल उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

जर्मनीको चर्चित ब्राण्ड बीएमडब्लूले भारतमा टीभीएससँग सहकार्य गरेर जी-३१० सिरिज उत्पादन गर्दै आएको थियो । बीएमडब्लूको बजेट मोटरसाइकल नेपाली बजारमा पनि मूल्यकै कारण बिक्री गर्न सम्भव भएको थियो ।

नेपालमा डुकाटी, हस्कभर्ना जस्ता प्रिमियम मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी टर्क मोटर ट्रेडिङले सन् २०१८ डिसेम्वरबाट भारतमा उत्पादन भएका दुई मोडल नेपाली बजारमा ल्याएको थियो । जसमा बीएमडब्लु जी-३१० आर र जी-३१० जीएस मोडल थिए ।

टर्क मोटरले विगत दुई वर्ष यता बीएमडब्लू जी-३१० सिरिजका मोटरसाइकल आयात गरेको छैन । सुरुदेखि हिसाव गर्दा करिब ३५० युनिट हाराहारी बीएमडब्लूको जी-३१० सिरिजका मोटरसाइकल नेपाली सडकमा छन् ।

भारतमा जी-३१० को उत्पादन बन्द भएसँगै यसको पार्टस्को उपलब्धता के हुन्छ भन्ने चासो बढ्दै गएको छ । यस्तोमा हामीले कम्पनीका सर्भिस मेनेजरलाई सोध्यौ, उपभोक्ताले पार्टस पाउँछन् त ?

सर्भिस मेनेजर अमित झाले भने, ‘हामीले केही दिन अघि मात्र पनि पार्टस् अर्डर हालेका छौ, अर्को हप्ता भित्र नेपाल आइपुग्छ । बीएमडब्लू ३१० सिरिजका मोटरसाइकल भारतमा धेरै बिक्री भएका छन् । त्यसकारण पनि पार्टसमा समस्या हुँदैन ।’

भारतमा उत्पादन भएको जी-३१० सिरिज उत्पादन भएपनि नेपालमा बीएमडब्लू-४५० सीसीको नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी भएको कम्पनीको भनाइ छ ।

‘अहिले धेरै ग्राहकले पार्टस् र सर्भिसमा के हुने भन्ने चासो दिएको पाइएको छ, टर्क मोटर्स बीएमडब्लूका ग्राहकलाई ढुक्कले मोटरसाइकल चढ्न अनुरोध गर्छ’ झाले मेरोअटोसँग भने ।

टर्क मोटर्सले जी-४५० जीएस भारतमा सार्वजनिक भएको केही समयपछि नै नेपाल ल्याउने तयारी गरिरहेको समेत उनले बताए ।


Back_to_top