हुन्डाईको ब्राण्ड भ्यालु बढ्दा अन्य १५ अटो उत्पादकको घट्यो (सूचीसहित)

काठमाडौं । विश्व बजारमा गाडी उत्पादन र बिक्री गर्ने ब्राण्डको नयाँ रेटिङ २०२० सार्वजनिक भएको छ । ‘इन्टरब्राण्ड’ नामक संस्थाले सार्वजनिक गरेको नयाँ रेटिङमा ८ प्रतिशतले ब्राण्ड भ्यालु गुमाए पनि टोयोटा पहिलो स्थानमा पर्न सफल भएको छ ।

पहिलो स्थानमा रहेको टोयोटाको कुल ब्राण्ड भ्यालु ५१ अर्व ५९ करोड ५० लाख डलर रहेको छ । विश्व ब्राण्ड रेटिङमा टोयोटा ७ औं ठूलो ब्राण्ड हो भने अटोमोवाइल उत्पादकमा पहिलो ठूलो ब्राण्ड हो ।

अटोमोवाइल उत्पादकमा दोस्रो ठूलो ब्राण्ड मर्सिडिज बेञ्ज बनेको छ । नयाँ भ्यालुएसनमा ३ प्रतिशतले ऋणात्मक रहेको मर्सिडिजको नयाँ ब्राण्ड भ्यालु ४९ अर्ब २८ करोड ८० लाख अमेरिकी डलर रहेको छ । कम्पनीको ग्लोबल र्‍याङ्क भने ८ औं रहेको छ ।

अटोमोवाइल क्षेत्रमा तेस्रो धेरै ब्राण्ड भ्यालु रहेको कम्पनी बिएमडब्ल्यू हो । यसको पनि २०२० को रेटिङमा ४ प्रतिशतले कमी आएको छ । ३९ अर्व ७५ करोड ६० लाख ब्राण्ड भ्यालुसहित बिएमडब्ल्यू अटोमोवाइल क्षेत्रको तेस्रो ठूलो कम्पनी हो भने विश्वको ११ औं ठूलो कम्पनी हो ।

होन्डाले २०२० को रेटिङमा धेरै क्षती व्योहोरेको छ । कम्पनीको ब्राण्ड भ्यालु २०१९ को तुलनामा ११ प्रतिशतले गिरावट आएपनि चौथो ठूलो ब्राण्ड बन्न भने सफल भएको छ । कम्पनीको नयाँ ब्राण्ड भ्यालु २१ अर्व ६९ करोड ४० लाख डलर रहेको छ । कम्पनीको ग्लोवल र्‍याङ्क भने २० औं स्थान हो ।

उत्कृष्ट १५ अटोमोवाइल कम्पनीमा अघिल्लो वर्षको भन्दा २०२० मा ब्राण्ड भ्यालु बढाउने हुन्डाई एक मात्र कम्पनी रहेको छ । कम्पनीले २०२० मा आफ्नो ब्राण्ड भ्यालुमा १ प्रतिशतले वृद्धिसँगै टप ५ मा आफ्नो स्थान बनाउन सफल भएको छ । हुन्डाईको नयाँ ब्राण्ड भ्यालु १४ अर्व २९ करोड ५० लाख डलर रहेको छ । योसँगै हुन्डाईको ग्लोवल र्‍याङ्क ३६ रहेको छ ।

पहिलो पटक रेटिङ भएको विद्युतीय कार निर्माता टेस्लाले छैटौं स्थान हात पारेको छ । टेस्ला ग्लोवल र्‍याङ्कमा ४० स्थानमा पर्न सफल भएको छ । टेस्लाको ब्राण्ड भ्यालु १२ अर्व ७८ करोड ५० लाख डलर रहेको छ ।

अमेरिकी अटो उत्पादक कम्पनी फोड अर्को धेरै नोक्सानी व्योर्होने कम्पनी हो । फोर्डले २०१९ को तुलनामा १२ प्रतिशतले ब्राण्ड भ्यालु गुमाएको भएपनि अटो कम्पनीमा ७ औं स्थानमा रहेको छ । कम्पनीको नयाँ ब्राण्ड भ्यालु १२ अर्ब ५६ करोड ८० लाख डलर रहेको छ । योसँगै फोर्डको ग्लोवल र्‍याङ्क ४२ रहेको छ ।

अघिल्लो वर्षको तुलनामा कम क्षती व्योर्होरेको अउडी १२ अर्ब ४२ करोड ८० लाख भ्यालुएसन सहित ८ औं स्थानमा रहेको छ । फक्सवागन १२ अर्व २६ करोड ६७ लाख सहित ९ औं स्थानमा पर्दा पोर्श ११ अर्व ३० करोड १० लाख डलरसहित १० औं स्थानमा पर्न सफल भएको छ । यी तीनवटै ब्राण्ड फक्सवागन ग्रुप अन्तर्गत संचालित रहेका छन् । यी तीनवटा कम्पनी मध्ये अउडीको २ प्रतिशत, फक्सवागनको ५ प्रतिशत र पोर्शकाे ३ प्रतिशतले ब्राण्ड भ्यालुमा गिरावट आएको छ ।

सूचीको ११ औं स्थानमा निसान रहेको छ । निसानको ब्राण्ड भ्यालु अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ । उसको नयाँ ब्राण्ड भ्यालु १० अर्व ५५ करोड ३० लाख डलर रहेको छ ।

सूचीको १२ औं स्थानमा फेरारी रहेको छ । उसको पनि १ प्रतिशतले ब्राण्ड भ्यालुमा ह्रास आएको छ । उसको नयाँ भ्यालु ६ अर्ब २७ करोड ९० लाख डलर रहेको छ । सूचीको १३ औं स्थानका किया, १४ औं स्थानमा ल्याण्डरोभर र १५ स्थानमा मिनि रहेका छन् । यी कम्पनीको ब्राण्ड भ्यालु क्रमश ५ अर्व ८३ करोड, ५ अर्व ७ करोड ७० लाख र ४ अर्व ९६ करोड ५० लाख अमेरिकी डलर रहेको छ । यी मध्य कियाले ९ प्रतिशत, ल्याण्डरोभरले १३ प्रतिशत र मिनिले १० प्रतिशतले ब्राण्ड भ्यालु गुमाएका छन् ।

इन्टरब्राण्डले सार्वजनिक गरेको ग्लोवल रेटिङको टप ५ कम्पनी आइटी वेसमा आधारित रहेका छन् । जसमा पहिलो स्थानमा एप्पल, दाेस्राे स्थानमा अमेजन, तेस्राे स्थानमा माइक्राेसफ्ट, चाैथाे स्थानमा गुगल र पाँचाै स्थानमा सामसङ रहेकाे छ ।


Back_to_top