काठमाडौं । मारुती सुजुकीले उत्पादन गरेको सब फोर मिटर ब्रेजाको नयाँ जेनेरेशन मोडल नेपालमा अघिल्लो महिनाबाट विक्री सुरु भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याएर विक्री सुरु भएको नयाँ ब्रेजा पहिलाको तुलनामा फिचर थप भएर आएको छ भने मूल्य पनि बढेर विक्री सुरु भएको हो ।
यसअघि तीन भेरियन्टमा मात्रै विक्री गर्दै आएको ब्रेजा अहिले भने चार भेरियन्टमा विक्री सुरु भएको छ । एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्ट मध्ये सबैभन्दा टप भेरियन्ट जेडएक्सआई प्लस हो ।
सिजी मोटोकर्पले ब्रेजा जेडएक्सआई प्लस भेरियन्टको मूल्य ५६ लाख २९ हजार रुपैयाँ रहेको छ । त्यसलाई किन्ने ग्राहकले २८ लाख १४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ भने, त्यति नै रकम कर्जा वापत लिन सकिन्छ ।
अहिले बैंकले १३ प्रतिशत हाराहारीमा कर्जा उपलब्ध गराउने छ । यसरी लिएको कर्जा ७ वर्ष भित्र तिर्नेगरी कर्जा लिँदा ५१ हजार २०० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।
अत्याधुनिक फिचरसहित नयाँ जेनेरेशनको ब्रेजामा रिभाइन्ड फ्रन्ट तथा रियर फेसिया, रिडिजाइन भएको सी–पिल्लर, थिक बडी क्लाइडिङ, नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वील, इलेक्ट्रीक सनरुफ तथा सार्कफिन एन्टेन पाउन सकिन्छ ।
इन्टेरियरमा एप्पल कार प्ले तथा एन्ड्रोइड अटोसहितको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, टेलिस्कोपीक एड्जस्टमेन्ट गर्न सकिने नयाँ डिजाइनको स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, वायलेस चार्जिङ, एम्बियन्ट लाइट, रियर एसी भेन्ट, हेडअप डिस्प्ले, सनरुफ जस्ता फिचर छन् ।
सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनीक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा पाउन सकिन्छ ।
मारुती सुजुकी ब्रेजामा १.५ लिटर क्षमताको इन्जिन छ । सेग्मेन्ट कै सबैभन्दा ठूलो १४८२ सीसी क्षमताको चार सिलिण्डर इन्जिनले १०२ ब्रेकहर्स पावर र १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

