काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा थप कर लगाउने चर्चा बाहिर आएको छ । सरकारले भोलि ल्याउन लागेको आर्थिक वर्ष २०८१/८२ को बजेटले नयाँ करको रूपमा ‘हरित कर’ लगाउन खोजेको बुझिन्छ ।
राजश्वमा कमी आएसँगै सरकारले कर उठाउन विभिन्न बाटो खोजी रहेको समयमा हरित कर चर्चामा आएको हो । विश्वका सम्पन्न देशहरुले जलवायू परिवर्तनको असर कम गर्न बायू प्रदुषण गर्ने बस्तुहरुमा हरित कर प्रयोगमा ल्याएका छन् ।
पेट्रोलियम पदार्थ प्रयोग हुने क्षेत्रमा हरित कर लागू गर्न खोजिएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् । उच्चस्तरीय कर सुझाव समतिले हरित कर लगाउन सुझाव दिएको थियो ।
उच्चस्तरीय कर सुझाव समतिले दिएकाे उक्त सुझावमा विद्युतीय गाडी र पेट्रोलियम गाडीमा लाग्दै आएको भन्सार र अन्तःशुल्क समान बनाएर पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा अतिरिक्त हरित कर लगाउन भनेकाे हो ।
नेपालमा हरित करको प्रयोग यसअघि नभएपनि प्रदुषण करको नाममा पेट्रोलमा अतिरिक्त कर लगाउदै आएको छ । कर सुधार समितिले दिएको सुझाव अनुसार इन्धनमा लगाइएको भन्सार तथा सुधार दस्तुर, पूर्वाधार कर, आयल निगमले लिने प्रदूषण करहरू एकीकृत गरी हरितकर नामाकरण गर्न भनिएको छ ।


