काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर संकलनका लागि ११ वटा विद्युतीय मिनी ट्रक किन्ने भएको छ ।
महानगरले असार २७ गते मिनी ट्रक खरिदका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक कम्पनीले भदौ ४ गतेसम्म आवेदन दिनुपर्नेछ । सोही दिन बोलपत्र खोलिने महानगरले जनाएको छ ।
महानगरका अनुसार किन्न लागिएको गाडी प्योर इलेक्ट्रीक, राइट ह्याण्ड ड्राइभ रियर ह्वील ड्राइभ, कम्तीमा ४० किलोवाट मोट पावर, २०० न्युटन मिटर टर्क जेनेरेट गर्ने हुनुपर्नेछ ।
त्यस्तै, गाडीको लम्बाइ ३५०० एमएम, चौडाइ १६०० एमएम, उचाइ १८०० एमएम, ह्वीलबेस २५०० एमएम, कर्ब वेट १३०० केजी, पेलोड १२०० केजी, ग्राउण्ड क्लियरेन्स १६० एमएम हुनुपर्नेछ ।
त्यस्तै, गाडीमा प्रयोग हुने ब्याट्री लिथियम आयन/लिथियम आयन आइरन फस्फेट, डब्लूएलटीपी १५० एमएम रेन्ज दिने, टप स्पीड कम्पतीमा प्रतिघण्टा ५५ किमी हुनुपर्नेछ ।
त्यस्तै, महानगरले टेन्डरमा अर्को एउटा अनौठो शर्त पनि राखेको छ । टेन्डर पाउने कम्पनीले महानगरका बढीमा ५ जना प्राविधिकलाई गाडी उत्पादन हुने देशमा लगेर गाडी संचालन तथा मर्मत तालिम दिनुपर्ने शर्त तोकिएको छ । बिक्रेताले ती व्यक्तिहरू लैजाँदा लाग्ने भिसा शुलक, हवाई टिकट, आवास लगायत सम्पूर्ण खर्च कम्पनीले नै व्यहोनुपर्ने तोकिएको छ ।
साथै, ठेक्का पाउनेले नेपालस्थित आफ्नो आधिकारिक सर्भिस सेन्टरमा १ हप्ताको तालिम प्रदान गर्नुपर्नेछ ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले त्यस्तो शर्त किन राखियो ठ्याक्कै आफूलाई जानकारी नभएको बताए । ईभी गाडी संचालन तथा मर्मतका दक्ष प्राविधिक चाहिने भएकाले त्यस्तो शर्त राखिएको हुनसक्ने उनले बताए ।
‘मैले बोलपत्रमा राखिएका शर्तहरु हेरेको छैन,’ उनले भने, ‘तर, गाडी संचालन तथा मर्मतका लागि प्राविधिकलाई थप तालिम आवश्यक पर्ने भएकाले प्याक्ट्री लैजानुपर्ने शर्त राखिएको होला,’ उनले मेरोअटोसँग भने ।
त्यस्तै, महानगरले अरु २ वटा विद्युतीय प्यासेन्जर भ्यान पनि खरिद गर्न टेन्डर आह्वान गरेको छ ।

