काठमाडौं । बीवाइडीले विद्युतीय कार नेपालमा विक्री सुरू गरेको ५ वर्ष पूरा भएको छ । पाँच वर्षसम्म शोरुम निर्माण नगरी विद्युतीय कार विक्री गर्दै आएको साइमेक्स इंकले ‘बीवाइडी पार्क’ थिममा रहेर आफ्ना गाडी विक्री गर्दै आएको थियो । सुरूका दिनमा विद्युतीय कार पनि यति ठूलो हुन्छ र ? भन्ने प्रश्नको सामना गरेको कम्पनीले विस्तारै आफ्नो विक्री बढाउँदै लगेको छ ।
सन् २०१७ भरी नेपाल गाडी आएर पनि कम्पनीले विक्री गरेको थिएन । सुरूमा विक्रेतालाई नै कसरी गाडी विक्री गर्ने भन्ने अन्योलताले सताएको थियो । यसको पफर्मेन्स कस्तो होला रु सर्भिस कसरी दिन सकिन्छ रु मानिसले विद्युतीय कारलाई कसरी लिन्छन् ? जस्ता प्रश्नको उत्तर खोज्न करिब एक वर्षसम्म आफैँ टेस्ट ड्राइभ गर्ने र त्यस क्रममा आउन सक्ने समस्यासँग परिचित हुने प्रयास गरेको कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन् ।
‘आफैँमा विश्वास नभई अरूलाई गाडी बेच्ने आँट आएन । त्यसैले पहिलो एक वर्ष गाडी विक्री नगरी परीक्षण गर्यौं,’ श्रेष्ठ भन्छिन्, ‘परीक्षणमा सफल भएसँगै बजारमा विक्री गर्ने योजना बनायौं । त्यसपछि नीति निर्मातालाई गाडी बेच्ने योजनासहित प्रयास गर्यौं । योजना आयोग, ऊर्जामन्त्रालय, राष्ट्रपति कार्यालय, प्राधिकरण जस्ता निकायमा यो गाडी विक्री गरेको थियौं । त्यसले हामीलाई एक ‘लेभलको कन्फीडेन्स’ दियो ।’
नीति निर्माताले नै विद्युतीय गाडी चढ्न थालेसँगै बजारमा विद्युतीय गाडीको चर्चा बढ्यो । नागरिकले साना विद्युतीय गाडी पहिला पनि चढेका थिए । उनीहरूले सहजै ठूला गाडी चढ्न थाले । यसले समग्र विद्युतीय गाडीको बजार बढ्न सहयोग पुगेको श्रेष्ठको दाबी छ ।
नेपालमा विद्युतीय गाडी विक्री गर्न थालेको ४ वर्षमा ८० यूनिट हाराहारी बीवाइडी ई–६ र टीथ्री एमपीभी विक्री गरेको कम्पनीले सन् २०२१ मा मात्रै १७० यूनिट गाडी विक्री गर्न लागेको छ । यस विषयमा श्रेष्ठ भन्छिन्, ‘हामीले करिब १२० यूनिट गाडी यो वर्ष ग्राहकलाई हस्तान्तरण गरिसकेका छौं । ५० यूनिट गाडी अर्को हप्ता काठमाडौंमा आइपुग्छ । ती सबै गाडी हामीले बुकिङ लिएर राखेका छौं । आउने बित्तिकै ग्राहकलाई हस्तान्तरण गर्छौं ।’
उसोत बीवाइडी विश्वमा दोस्रो ठूलो विद्युतीय कार निर्माता कम्पनी भइसकेको छ । टेस्लालाई पच्छाइरहेको बीवाइडीले यूरोपियन र अमेरिकी बजारमा बलियो पकड जमाउन सफल भएको छ । विस्तारै राइट ह्याण्ड ड्राइभ कार उत्पादन बढाउन लागेको बीवाइडीले सन् २०२२ मा थप दुईदेखि तीन नयाँ मोडललाई राइट ह्याण्ड ड्राइभमा ल्याउने छ । त्यसलाई कम्पनीले बेलायत, अष्ट्रेलिया र एशियाली बजारमा विक्री गर्ने योजना बनाएको छ ।
नेपालमा पहिलो बन्ने लक्ष्य
नेपालमा विक्री सुरू भएको ५ वर्षसम्म बीवाइडी पार्क कन्सेप्टमा काम गरेको साइमेक्स इंकले नेपालका मुख्य सहरमा शोरुम निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले बिर्तामोड, इटहरी, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, भक्तपुर, ललितपुर र काठमाडौंमा शोरुम संचालनमा ल्याउने तयारी गरेको छ ।
‘हामीले काठमाडौं बाहेक सबै स्थानको डिलर नियुक्त गरिसकेका छौं । चाँडै डिलरहरूको शोरुम तयार हुन्छ । हामी आफैँले काठमाडौंको नारायणचौरमा शोरुम बनाइरहेका छौं,’ प्रबन्ध निर्देशक श्रेष्ठले भनिन् ।

अहिले ई–६, नयाँ जेनेरेशन ई–६, एम–थ्री एमपीभी र टी–थ्री कार्गो भ्यान विक्री गर्दै आएको कम्पनीले सन् २०२२ को पहिलो क्वाटरमा नै एस प्लस क्रसओभर मोडल नेपाल ल्याउने तयारी गरेको छ । सन् २०२२ भित्रै अर्को डल्फिन ह्याचव्याक पनि नेपाल ल्याउने गरी कम्पनीले काम गरिरहेको छ । यी दुई मोडल थप गरेसँगै सबैभन्दा धेरै मोडल उपलब्ध हुने र विक्रीमा पनि पहिलो हुने लक्ष्य कम्पनीले राखेको श्रेष्ठ बताउँछिन् ।


