दुई ठूला चिनियाँ कार ब्राण्ड ‘प्राइस वार’को लागि तयार, होला नेपालमा फाइदा ?

काठमाडौं । चिनियाँ दुई कार निर्माताहरु न्यू इनर्जी भेहिकलमा प्रतिसप्रर्धा गरिरहेका छन् । सन् २०२५ काे लागि विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडी र चिनियाँ सरकारी स्वामित्वको कम्पनी एसएआईसी ग्रुप प्राइस वारको लागि तयार भएका हुन् ।

यी दुई कम्पनी बीचको प्रतिस्पर्धा प्राइस वारमा मात्रै सिमित छैन । कयौं वर्षदेखि चीनकै सबैभन्दा ठूलो अटोमोवाइल उत्पादक रहेको एसएआईसीलाई गत सेप्टेम्बरबाट बीवाइडीले उछिनेको छ । योसँगै यी दुई ब्राण्ड आफ्नो गाडी धेरै बिक्री गर्ने दौडमा प्राइस वारमा उत्रने गरेका छन् ।

सन् २०२५ सुरु हुनै लाग्दा यी दुबै ब्राण्डले आफ्ना सप्लायर्सलाई १० प्रतिशतले पार्टसको मूल्य कटौती गर्न दवाव दिइरहेको रिपोर्टहरु बाहिर आएका छन् । बीवाइडी र एसएआईसी ग्रुपले आफ्ना सप्लायर्सहरूलाई आधिकारीक इमेल लेख्दै जनवरी १ तारिखदेखि मूल्य कटौती गर्न भनेका छन् ।

अहिलेको मूल्य कटौतीको विषयमा बीवाइडी अटो ग्रुपका ब्राण्ड एण्ड पब्लिक रिलेसन डिपार्टका जनरल मेनेजर ली यून्फेई भन्छन्, ‘हरेक नयाँ वर्षमा आफ्ना सप्लायर्ससँग राम्रो मूल्य माग्नु अटोमोवाइल उद्योगको प्रक्रिया नै हो । अब गाडी पनि ठूलो परिमाणमा उत्पादन हुन थालेको छ । पार्टस्को माग उच्च भएसँगै मूल्यमा केही नेगोसेसन हुनु स्वाभाविक हो ।’

उता एसएआईसी ग्रुपले पनि पार्टस्को माग उच्च भएसँगै मूल्य कटौती सामान्य कुरा भएको बताएको छ । माग र सप्लाईले बजार मूल्य निर्धारण हुने भएकोले यसलाई प्राइस वार नै भन्न नहुँने कम्पनीको भनाई छ ।

नेपालमा बीवाइडी र एसएआईसी ग्रुप दुबैका विद्युतीय साधन बिक्री हुँदै आएका छन् । बीवाइडीको एउटा मात्रै ब्राण्ड नेपालमा उपलब्ध भएपनि एसएआईसी ग्रुपको एमजी, मेक्सस र विलिङ ब्राण्डका कार उपलब्ध छन् ।

चीनमा नै उत्पादन लागत कम भएपछि नेपाल आउने उत्पादनको मूल्य घट्छ नै । यसको फाइदा उपभोक्तामा कसरी पुग्छ, त्यो हेर्न भने केही महिना अझै कुर्नु पर्ने हुन्छ ।


Back_to_top