साओमी पनि पेट्रोल हाइब्रिडमा !

काठमाडौं । चीनको उदयमान कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी साओमीले इलेक्ट्रीक भेहिकल बनाउन थालेको एक वर्ष मात्रै भएको छ । अमेरिकी टेक्नोलोजी जायन्ट एप्पलले ईभी नबनाउने निर्णय गरे लगत्तै गत डिसेम्बर २०२३ मा ईभी बनाउने घोषणा गरेको साओमीले मार्च २०२४ मा पहिलो मोडल लन्च गरेको थियो ।

साओमीको पहिलो इलेक्ट्रीक मोडल एसयू–७ स्पोर्ट्स सेडान ६ दिनमै १ लाखभन्दा बढी बुकिङ भएको थियो । तर, साओमीले आफुलाई ब्याट्री ईभीमा मात्रै सिमित नराखी हाइब्रिड टेक्नोलोजीमा समेत गाडी ल्याउने भएको हो ।

साओमीले अब पछिल्लो समयमा चिनियाँ उत्पादकको रोजाइमा परेको १.५ लिटर क्षमताको पेट्रोल इन्जिनसहितको हाइब्रिड इआरईभी (एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल) बनाउने भएको हो । विश्व बजारमा प्योर इलेक्ट्रीकको तुलनामा हाइब्रिड कारको बिक्री तिब्र गतिमा बढ्दै जान थालेसँगै साओमीले पनि इआरइभी भेहिकल बनाउने भएको हो ।

साओमीले ठूलो साइजको एसयूभीको सेपमा नयाँ इआरइभी बनाउन लागेको छ । प्रोडक्सन कोड नेम ‘एन–थ्री’ राखेर काम भइरहेको मोडलको पहिलो तस्बिर बाहिर आएको हो । बक्सी डिजाइनमा रहेको यो भेहिकलमा परम्परागत एसयूभीहरु जस्तै टलफ्रन्ट फेसिया र फ्ल्याट रुफ रहेको छ । बाहिरी साइज हेर्दा यो भेहिकलमा ३ रोको सिट रहनेछ ।

सन् २०२६ को सुरुवातबाट बजारमा आउने अनुमान गरिएको छ । एन–थ्री सिगंल तथा अल ह्वील ड्राइभ भेरियन्टमा आउने छ । यसको इन्ट्री लेभल मोडलमा २२० किलोवाटको सिंगल फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा ४९५ किलोवाटको ड्यूल मोटर सेटअप रहनेछ ।


Back_to_top