चीन र भारतमा बनेका मध्ये कुन इलेक्ट्रीक कार ठिक ?

काठमाडौं । चिनियाँ विद्युतीय कारको दबदवा बढेसँगै अटोमोबाइल एशोसिएशन अफ इन्डियाका प्रतिनिधिले नाडा अटो शो २०२४ को अवसर पारेर नेपाल भ्रमण गरे । उनीहरूको आगमन अटो शो हेर्नमा मात्रै सीमित भएन, सरकारी संयन्त्रसँग पनि महत्वपूर्ण कुराकानीमा बित्यो ।

सन् २०२३ बाट चिनियाँ कारले नेपाली बजारमा बलियो पकड जमाउँदै गएको बेला भएको भारतीय कार निर्माताहरूको टोलीले नेपाल भ्रमण गर्नुलाई धेरैले अर्थपूर्ण रूपमा लिए । त्यो स्वाभाविक थियो । किनभने भारतमा ईभी उत्पादन निकै सुस्त हुनु र नेपालमा ईभीको प्रयोग व्यापक हुँदा उनीहरूको भ्रमण भएको थियो ।

अहिले भारतमा उत्पादन भएर आउने ईभी टाटा, महिन्द्रा, एमजी र सिट्रोनसँग मात्रै छ । टाटाले कुल ईभी आयातको ३० प्रतिशत बजार हिस्सा ओगटेर बसेको छ । एमजीकाे मिनी ईभी मात्र भारतमा बनेर नेपाल भित्रिरहेकाे तथा  महिन्द्रा र सिट्रोनको आयात खासै धेरै हुन सकेको छैन । यी चार ब्राण्ड बाहेक अन्यले भारतमा उत्पादन थालेकै छैनन् । त्यसैले कसको उत्पादन ठिक भन्ने विषयमा बहस गरिरहनु आवश्यक नहोला ।

भारतलाई नै उत्पादनको हब बनाएर सुजुकी, हुन्डाई, टोयोटा जस्ता ब्राण्डले पनि ईभी उत्पादन थाल्दै छन् । हुन्डाई छाडेर अन्य ब्राण्ड मासमा ईभी बनाउन अहिलेसम्म सफल भएका छैनन् । यस्तोमा उनीहरूको उत्पादन कस्तो आउँछ अहिल्यै टिप्पणी गर्न हतार होला ।

एउटा तुलना हेरौं

अहिले चिनियाँ बजारबाट आउने सबै कारमा एडास फिचर उपलब्ध छ । लगभग सबै गाडीको सिट, इन्टेरियर र फिचरहरू उस्तै छन् । एबीएस, इबीडी, चारवटै चक्कामा डिस्क ब्रेक, ३६० डिग्री क्यामेरा जस्ता फिचर १८ लाखदेखि १ करोड रुपैयाँसम्म मूल्य रहेका कारमा उपलब्ध छ ।

भारतमा उत्पादन भएको लेटेष्ट मोडल टाटा पन्चलाई यहाँ तुलना गरौं । कम्पनीले सानो एसयूभीलाई फिचर लोडेड बनाएको छ । सनरुफ, ३६० डिग्री क्यामरा, चारै चक्कामा डिस्क ब्रेक, वायरलेस फाेन चार्जर, स्मार्ट ड्यासबोर्ड, भरपुर सुरक्षा फिचर यसको बलियो पक्ष हो । फिनिसिङमा चिनियाँ कारको आसपास नै पुग्ने पन्च चालकको हरेक आवश्यकता पूरा गर्न सक्षम देखिन्छ ।

समग्रमा हाइटेक चिनियाँ प्रोडक्टलाई नेपाली सडक सुहाउँदो टाटाका गाडीले टक्कर दिएकै कारण कम्पनीले ३० प्रतिशत ईभीको बजार आफ्नो हिस्सामा पार्न सफल भएको हो । भारतमा बन्ने ईभीमा ग्राउन्ड क्लियरेन्स नेपाली बाटाेहरूलाई पुग्दो छ ।

चीनको बलियो पक्ष

चीनमा लिथियम आयोन ब्याट्रीको मास प्रोडक्सन भइरहेको छ । विश्वको कुल हाइभोल्टेज ब्याट्रीको उत्पादनमा चीनको हिस्सा ७० प्रतिशत हाराहारी छ । चीनपछि धेरै उत्पादन कोरियन कम्पनीहरूको छ । त्यसैले चीनमा ब्याट्रीको मूल्य पनि अन्यत्रको तुलनामा कम छ ।

भारतमा चीनबाटै ब्याट्री ल्याएर कार बनाउनेहरू छन् । त्यस्तोमा स्वभाविक रूपमा ब्याट्रीको मूल्य धेरै पर्ने भयो । जसको कारण समग्र ईभीको मूल्य नै भारतमा महँगो पर्छ । चीनले उत्पादनमा आधारीत अनुदान दिएर कम्पनीहरूलाई प्रोत्साहन गरिरहेको छ । जबकि भारतमा उपभोक्ताले किन्दा अनुदान पाउँछन् । त्यसैले भारतमा ईभीको उत्पादन लागत बढी छ ।

सफ्टवेयर उत्पादन, मोटर उत्पादन र ब्याट्री मेनेजमेन्ट सिस्टम उत्पादनमा चीन धेरै अगाडि बढिसकेको छ । तत्कालै भारतीय उत्पादकले यी कुराको उत्पादनमा चीनसँग प्रतिस्पर्धा गर्न कठिन छ । यस्तोमा उनीहरूसँग प्रतिस्पर्धा गर्न भारतीय उत्पादकले अलगै बाटो पहिचान गर्नु पर्ने देखिन्छ ।

भारतीय गाडीको सबल पक्ष

नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण धेरैलाई नेपालमा सर्भिस तथा पार्ट्स समयमा नपाए पनि आफ्नो गाडी बनाएर गुडाउन सकिन्छ भन्ने, आत्मविश्वास रहेको पाइन्छ । जुन चीनबाट आउने गाडीमा सम्भव नै छैन ।

अर्को चिनियाँ उत्पादन नेपालको लागि नयाँ छन् । यहाँका आधिकारिक बिक्रेताले भोलिका दिनमा चुस्त सर्भिस तथा पार्ट्स देलान् वा नदेलान् भन्ने चिन्ता उपभोक्तामा देखिन्छ । अहिले यही चिन्तालाई जित्दै चिनियाँ ब्राण्डका कारहरू राम्रो संख्यामा बिक्री भएका हुन् ।

भारतमा उत्पादन हुने कारमा ग्राउन्ड क्लेयरेन्सको समस्या हुँदैन । नेपाल र भारतका सडकहरु लगभग उस्तै स्टायण्डर्डका छन् । यस्तोमा नेपाली सडक अनुसार आरएण्डडी भएर गाडी आएको मान्न सकिन्छ । मूल्यमा भने भारतीय उत्पादनले निकै कठिन प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।


Back_to_top