‘कन्ट्रक्सन मेसिनरी’को लागि बीवाइडीले ल्यायो ३ ब्याट्री प्याक

काठमाडाैं । बीवाइडीले कन्ट्रक्सन मेसिनरीको लागि १७.३ किलोवाट आवरदेखि १२० किलोवाट आवरसम्मको ब्याट्री प्याक सार्वजनिक गरेको छ । कम्पनीले तिब्र गतिमा चार्ज हुने फोर-सी चार्जिङ रेट भएको ब्याट्री ल्याएको हो ।

कन्ट्रक्सन मेसिनरीको लागि भने ३७, ९७ र १२० किलोवाट आवर क्षमताका तीन ब्याट्री प्याक उपलब्ध गराउने भएको हो । सानो १७ किलोवाट आवरको ब्याट्री भने हाइब्रिड गाडीमा प्रयोग हुनेछ ।

यसअघि कम्पनीले ग्वान्झाओ अटो शोमा फोर-सी ब्याट्री देखाएको थियो । तर, कुन कुन साइजमा ब्याट्री उपलब्ध हुन्छ भन्ने जानकारी दिएको थिएन । कम्पनीको फोर-सी चार्जिङ सपोर्ट गर्ने ब्याट्री २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १० मिनेट लाग्ने छ ।

कम्पनीले ल्याएको नयाँ ब्याट्री तिब्र गतिमा चार्ज हुने मात्र होइन, यसको चार्जिङ साइकल पनि उत्कृष्ट छ । बीवाइडीका अनुसार नयाँ ब्याट्रीमा ७ हजार चार्जिङ साइकल रहनेछ ।

स्टायण्डर्ड साइज ३७.७ किलोवाट आवरको ब्याट्रीलाई १० मिनेट चार्ज गर्दा ९० मिनेट प्रयोग गर्न सकिने कम्पनीको दावी छ । कम्पनीको नयाँ ब्याट्री माइनस ४० डिग्रीदेखि ६५ डिग्री तातो स्थानमा पनि प्रयोग गर्न सकिन्छ ।

विश्वभर अहिलेसम्म केबल ३ प्रतिशत कन्ट्रक्सन मेसिनरीहरु विद्युतीय रहेको बताउँदै बीवाइडीले भनेको छ, ‘एउटा डिजेल इन्जिन कन्ट्रक्सन मेसिनरीले गर्ने प्रदुषण करिब २०० डिजेल कारले गर्ने बराबर हुन्छ । त्यसैले यस्ता मेसिनरीहरु इलेक्ट्रीक बनाउन ढिला गर्नु हुन्न ।’


Back_to_top