काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडी विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक हो । ब्याट्री हुँदै कार उत्पादनमा प्रवेश गरेको बीवाइडीको पछिल्लो उत्पादन एटो-वान नेपालमा सार्वजनिक भएको छ ।
मूल्यको हिसाबले २८ लाख ९५ हजार रुपैयाँमा सुरूवाती भेरियन्ट र ३२ लाख ९९ हजार रुपैयाँमा एटो-वानको टप भेरियन्ट किन्न पाइन्छ । नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले चीनमा सिगल नामबाट बिक्री सुरू भएको १८ महिनापछि एटो-वान नामबाट नेपाल ल्याएको हो ।
बीवाइडीले भेग छुट्टाएर यसको नाम पनि फरक राखेको छ । चीनमा सिगल, युरोपमा डल्फिन सर्फ र एशियाली बजारमा एटो-वान नामबाट यसलाई बिक्री थालेको हो । अहिले राइट ह्याण्ड ड्राइभ देशहरूमा यसको लन्चिङ कार्यक्रम चलिरहेको छ ।
नेपालमा एटो-थ्री र डल्फिन जस्ता सफल दुई प्रोडक्ट र ईभी बजारमा धेरैले सम्झने ई-सिक्स जस्ता मोडलको सफलतालाई यसले उछिन्ने धेरैले अनुमान गरेका छन् । तर, यसको ब्यापार कस्तो रहन्छ, अहिल्यै भनिहाल्न हतारो हुन सक्छ ।

चीनमा यसको व्यापक चर्चा र सफलतापछि ब्राजिल, मेक्सिको जस्ता देशमा पनि सफलताको स्वाद यसले चाखिसकेको छ । मलेशिया, इन्डोनेशिया, नेपाल, भारत जस्ता राइट ह्याण्ड ड्राइभ देशमा अब एटो-वानको नामबाट क्रमिक रूपमा बिक्री सुरू हुँदैछ । यस्तोमा एटो-वानमा रहेका सबल र कमजोर पक्षका विषयमा यहाँ चर्चा गर्दैछौं ।
राम्रो रेन्ज र ब्लेड ब्याट्री
बीवाइडीको सबैभन्दा बलियो पक्ष भनेकै ब्याट्री टेक्नोलोजी हो । कम्पनीले आफ्नो इन्ट्री मोडलमा पनि ब्लेड ब्याट्री प्रयोग गरेको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध एटो-वानमा ३० र ३८.८८ किलोवाट आवरको ब्याट्री छ ।
यसको रेन्ज डब्लूएलटीपीका अनुसार टप भेरियन्टले ३०० किलोमिटर प्रदान गर्छ । जुन अर्बान कारको लागि निकै राम्रो रेन्ज हो ।
मूल्यको कारण चर्चामा
२९ लाखभन्दा कमबाटै मूल्य सुरू भएको कारण एटो-वानको चर्चा बढ्दै गएको छ । चीन लगायतका बजारमा पनि १० हजार डलरभन्दा कम मूल्यको ईभीको रूपमा यसले चर्चा पाएको हो ।

स्मार्ट फिचर
बीवाइडीले आफ्नो इन्ट्री मोडलमा भोइस कन्ट्रोल, वायरलेस अपग्रेड जस्ता फिचर दिएको छ । साथमा १० इन्चको टचस्क्रीन, डिटिजल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर निकै उपयोगी छन् ।
सहरी क्षेत्रको लागि उपयुक्त
कम्प्याक्ट साइजको कारण यसलाई सहरी क्षेत्रमा चलाउन र पार्किङ गर्न निकै सहज छ । ट्राफिक जाम होस् या घरको पार्किङ साइज ठूलो नभएका लागि यो निकै उपयोगी हुन सक्छ ।

केही कमजोर देखिएका पक्ष
फ्यामली ह्याचब्याक सेग्मेन्टमा उपलब्ध अन्य ब्राण्डका कारको तुलनामा यसको टेक फिचर कम छ । चाहे त्यो नामी-०१ होस् वा टाटा टियागो दुवैसँग यसको सिधा प्रतिस्पर्धा हुने हो ।
टाटा टियागो ग्लोबल एनक्याप क्र्यास टेस्टमा अब्बल देखिन्छ भने, नामी-०१ मा एडास लगायतका फिचर छन् । यी कुरामा भने एटो-वान केही पछाडि छ ।
बीवाइडीको बढ्दो ब्राण्ड क्रेडिबिलिटीको कारण केही फिचर कम भए पनि उपभोक्ताको रोजाइमा एटो-वान पर्ने देखिन्छ ।

