काठमाडौं । विद्युतीय कारमा प्राइस वारले नयाँ स्वरूप ग्रहण गरेको छ । केही दिनअघि सम्पन्न नाडा अटो शो मार्फत नेपाली बजारमा प्रवेश गरेका दुई एसयूभी बीच मूल्यमा कडा प्रतिस्पर्धा देखियो ।
नेपालमा सर्वाधिक सफल न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीले आफ्नो बहुप्रतिक्षित मोडल एटो-टुलाई ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गर्यो । यसको मूल्यले अहिले पनि चर्चा पाइरहेको छ ।
त्यही बीवाइडी एटो-टुलाई काउन्टर दिनेगरी डोङफेङ नामी-०६ (भिगाे) एसयूभी आयो । र, अहिले नामी-०६ र बीवाइडी एटो-टुको मूल्यले एसयूभी बजारमै तरङ्ग ल्याइरहेको छ । नामी-०६ को सुरूवाती मूल्य ३७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
यी दुई एसयूभी ब्याट्री साइज, रेन्ज, बडी साइज जस्ता कुरामा एक अर्काका सिधा प्रतिस्पर्धी हुन् । त्यसैले हामीले यहाँ बीवाइडी एटो-टु र नामी-०६ बीच रहेको भिन्नता र समानता केलाउने प्रयास गरेका छौं ।
मोटर ब्याट्री र रेन्ज
नामी-०६ एसयूभीमा ९९ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । बीवाइडी एटो-टुमा भने १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ नै मोटर दिइएको छ ।

बीवाइडीले एटो-टुलाई ५१.१३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा ल्याउने छ । जसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको छ । एटो-टुमा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । यसमा भीटुएल फङ्सन पाउन सकिन्छ ।
नामी-०६ दुई ब्याट्री अप्सनमा आउने छ । सानो ४४.९४ किलोवाट आवर र ठूलो ५१.८७ किलोवाट आवर ब्याट्री रहन्छ । ठूलो ब्याट्री सिधै एटो-टुसँग भिड्छ ।
समान साइजको ब्याट्रीको रेन्ज पनि लगभग उस्तै हुनेछ । यसमा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी चार्जर र ६० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।
डायमेन्सन
बीवाइडी एटो-टुको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । एटो-टुमा २६२० एमएम लामो ह्वीलबेस छ । यसमा १७ इन्चको ह्वील पाउन सकिन्छ । कम्पनीका अनुसार यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसको बुट स्पेश ४०० लिटरको छ ।

डोङफेङ नामी-०६ को लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस छ । यसमा पनि १७ इन्चकै अलोय ह्वील छ । ग्राउण्ड क्लियरेन्स भने यसमा १८५ एमएम अग्लो छ । नामी-०६ मा ५०० लिटरको बुटस्पेश पाउन सकिन्छ ।
क्याबिन फिचर
डोङफेङ नामी-०६ को क्याबिन मिनिमल डिजाइन स्टाइलिङमा छ । यसको सेन्टर कन्सोलमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम छ । साथै, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई सूचना दिन्छ ।
ओभल सेपको स्टेरिङ ह्वील प्रयोग भएको नामी-०६ मा गियर नब स्टेरिङ ह्वीलको पछाडि दिइएको छ । नामी-०६ को सेन्टर टनेलमा हिडन कम्पार्टमेन्ट र वायलेस चार्जिङ प्याड दिएको छ । साथै, हिटेड भेन्टिलेटेड र मसाज सिट यसको अर्को बलियो पक्ष हो । इन्टेरियरमा सफ्ट टच मेटेरियल प्रयोग भएको एसयूभीको क्याबिनमा प्यानारोमिक सनरूफ, एम्बियन्ट लाइट र ६ वटा स्पीकर छन् ।
बीवाइडी एटो-टुको इन्टेरियरमा १२.८ इन्चको टचस्क्रीन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट यसमा छ ।
त्यसैगरी, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, इलेक्ट्रीक टेलगेट जस्ता बहु उपयोगी फिचर दिएको छ ।
सेफ्टी फिचर
दुवै एसयूभीमा सुरक्षाका लागि एथेस्ट सेफ्टी फिचर छन् । नामीले एसयूभीमा डीजेआई पावर्ड लेभल टु एडास सिस्टम, मल्टिपल एयरब्याग, एबीएस, ईबीडी र इलेक्ट्रीक स्टेबिलीटी कन्ट्रोल, ३६० डीग्री क्यामरा, हिल असिस्ट जस्ता फिचर दिएको छ ।

फिचर दिन बीवाइडी पनि के कम छ र । उसले ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ईएससी, हिल असिस्ट, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, बीवाइडी डिजिटल की, हिल असिस्ट, लेभल टु एड्भान्स एडास सिस्टम दिएको छ ।
बडी डिजाइन
एटो-थ्रीको सफलतापछि जन्मेको एटो-टुको फ्रन्टमा स्लीक एलईडी हेडलाइट, स्लीम एलईडी डीआरएल र ग्लसी ब्ल्याक एसेन्ट प्रयोग गरेको छ । साइडमा १७ इन्चको अलोय ह्वीलसँगै ब्ल्याक कलरको ह्वील आर्क र बडी क्लाइडिङको कम्बिनेस राम्रो देखिन्छ ।
पछाडि भागमा फुलविथ एलईडी लाइटबारको साथमा फरक डिजाइनको इन्फिनिटी रिङ प्यार्टन छ । उक्त प्यार्टनले एटो-टुलाई युनिक भिजुअल सिग्नेचर दिएको छ ।

नामी-०६ को डिजाइन डाइनामिक तथा मोर्डन फिलोसोफिमा आधारित छ । यसको फ्रन्ट डिजाइनमा फ्युचरिस्टिक र स्पोर्टी एस्थेटिक देख्न पाइन्छ । फ्रन्टमा सेभेन सेपको एलईडी डीआरएल, स्लीक एलईडी हेडल्याम्प, क्लोजअफ ग्रिलले झट्ट हेर्दा तान्छ । साइडमा हाइ सोल्जर लाइन, १७ इन्चको अलोय ह्वील, रूफरेल र पछाडि दिइएको पीक्सेल म्याट्रिक्स एलईडी ल्याम्पले फरक देखाउँछ ।
अन्त्यमा
डोङफेङको क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा बनेको नामी-०६ र बीवाइडीको ई प्लेटफर्म ३.० र सेल टु बडी टेक्नलोजीमा बनेका एटो-टुमा धेरै समानता देखिए । यी दुवै एसयूभीले नेपाली कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा राम्रो बजार पाउने अनुमान धेरैको छ । नाडा अटो शोमा भएको बुकिङमा पनि कडै प्रतिस्पर्धा चलेको थियो ।

