काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक -धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ । वर्षाका कारण २ महिनासम्म रोकिएको सडक निर्माण पछिल्लो समय वर्षा कम भएसँगै पुनः थालिएको हो ।
सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको छ । उक्त क्षेत्रमा सडक पिच गर्नका लागि ‘सीटीबी’ को काम भइरहेको आयोजनाले बताएको छ ।
जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सीटीबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । उनका अनुसार यसअघि असार र साउन महिनामा मनसुनका कारण विस्तार कार्य रोकिएको थियो ।
बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा नै रहेको छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार कार्य रोकिएको हो ।
सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेको जनाइएको छ ।
यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन । हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहेको छ ।
पुलबजारबाहेकको सूर्य विनायकदेखि धुलिखेलसम्मको अन्य स्थानमा भने छोटो खण्ड-खण्डमा काम भइरहेको खनालले बताए ।
उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमा नै सडक कालोपत्रको तयारी भइरहेको छ ।
धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युत्को ‘हाइटेन्सन लाइन’को पोल सार्न बाँकी रहेको जनाइएको छ ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमा नै नसकिने भएको छ ।
आयोजनाले बाँकी करिब पाँच महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।
हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ३७ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए ।
साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि पहिलो चरणमा साँगा-धुलिखेलका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा विस्तार थालिएको हो ।

