काठमाडौं । चिनियाँ अटोमोबाइल जाइन्ट बीवाइडीले आफ्नो सर्वाधिक सफल एसयूभी एटो थ्रीमा व्यापक परिमार्जन गर्दै ‘एटो थ्री ईभो’ मोडल सार्वजनिक गरेको छ ।
चिनियाँ निर्माताले अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल एटो थ्रीको इभो मोडल ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । नयाँ एटो थ्रीमा ब्याट्री साइज पनि ७४.८८ किलोवाट आवरको दिइएको छ । ब्याट्री भने ब्लेड टेक्नोलोजीमा आधारित एलएफपी हो ।
कम्पनीले ८०० भोल्ट आर्किटेक्चर प्रयोग गरेको कारण यसलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न डीसी चार्जरको सहायताले केबल २५ मिनेट मात्रै लाग्ने छ । सिंगल चार्जमा यसले सीएलटीसी टेस्ट कन्डिसनमा ६५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
बीवाइडीले आफ्नो सफल मोडललाई चीनमा अल ह्वील ड्राइभ अप्सन पनि दिएको छ । एटो थ्री इभोको रियर ह्वील ड्राइभ मोटर २३० किलोवाटको छ । यसले शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ५.५ सेकेण्ड लागउने छ ।
यदि, अल ह्वील ड्राइभको पावर हेर्ने हो भने १०० किलोवाट बढी छ । यसको अगाडि एक्सएलमा १०० किलोवाटको अतिरिक्त मोटर छ । जसको संयुक्त पावर ३३० किलोवाट हुन आउँछ । पावर वृद्धिसँगै नयाँ एटो थ्रीको अल ह्वील ड्राइभ मोडललाई शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ३.९ सेकेण्ड लाग्नेछ ।

बीवाइडीले यसअघि फ्रन्ट ह्वील मोटरमा ल्याएको एटो थ्रीको इभो मोडल रियर ह्वील र अल ह्वील मोटरमा उपलब्ध हुनेछ । साथै, पछाडिको सस्पेन्सन फाइभ लिंक इन्डिपेन्डेन्ट हुनेछ । यसले गाडीको पर्फमेन्समा व्यापक सुधार आउने कम्पनीको दाबी छ ।
पावर, आर्किटेक्चर, टर्क, सस्पेन्सको अलावा धेरै कुरा परिवर्तन गरिएको छैन । यसको साइज पहिलेकै निरन्तर राखिएको छ । अगाडि १०१ लिटरको फ्रन्ट ट्रंक थपिएको छ ।
नयाँ एटो थ्री इभो मोडलमा गियर सिफ्टर परिवर्तन गरिएको छ । साथै, १५.६ इन्चको टच स्क्रीन र ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर यसमा दिइएको छ ।

