चालु आवमा दैनिक ९३३ मिटर सडक कालोपत्र, १० पुल निर्माण सम्पन्न

काठमाडौं । चालु आर्थिक वर्षको २०८२/८३ को पहिलो ६ महिना (साउन-पुस)मा केन्द्र सरकारले दैनिक औसतमा ९३३.३३ मिटर सडक कालोपत्र गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत कुल १६८ किलोमिटर सडक कालोपत्र भएको छ । सो आधारमा दैनिक औसतमा ९३३ मिटर सडक कालोपत्र भएको हो ।

कालोपत्र भएको १६८ किमी सडकमध्ये ८ किमी चारलेन वा सोभन्दा बढी लेन र १६० किमी सडक दुई लेनको रहेको छ ।

प्रतिवेदन अनुसार चालु आवमा हुलाकी राजमार्ग २६.५ किमी, मध्य पहाडी राजमार्ग ११ किमी, उत्तर दक्षिण आयोजना अन्तर्गत १० किमी, मदन भण्डारी राजमार्ग ६.६, पूर्व-पश्चिम राजमार्ग ५ किमी, सडक सुधार आयोजना अन्तर्गत ५ किमी सडक दुई लेनमा कालोपत्र गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर सडक कालोपत्र गरिएको हो । गत वर्ष पुससम्म चार लेन र दुई लेन गरी कुल ७५ किलोमिटर सडक कालोपत्र गरिएको थियो ।

यसैगरी, चालु आवमा करिब ३५ किमी सडक ग्राभेल गरिएको छ । ३० किमी नयाँ ट्रयाक खोलिएको छ भने १५ किमी सडक मर्मत गरिएको छ ।

चालु आवको ६ महिनामा विभिन्न राजमार्गमा १० वटा पुल निर्माण सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा २० वटा पुल निर्माण सम्पन्न भएका थिए ।

चालु आवमा भौतिक मन्त्रालय मातहतका रुग्ण अवस्थामा रहेका २३५ मध्ये ३६ वटा ठेक्का तोडिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, चितवनस्थित नारायणी नदीमा सिग्नेचरी ब्रिजको डिजाइन स्वीकृत गरी निर्माण सुरू गरिएको छ । नागढुंगा सुरुङमार्ग संचालनका लागि सेवा प्रदायक छनोट प्रक्रियामा रहेको छ ।


Back_to_top