सेग्मेन्ट लिडर ‘एमजी एस फाइभ’, प्रतिस्पर्धीभन्दा कति भिन्न (भिडियोसहित)

काठमाडौं । सन् २०२५ को कम्प्याक्ट एसयूभी सेग्मेन्टमा लिडर बनेको मोडल एमजी एस फाइभ हो । एक वर्षभन्दा कम समयमा एक हजार युनिटभन्दा बढी आयात भएको एस फाइभ धेरै कुरामा प्रतिस्पर्धीभन्दा अगाडि देखिन्छ ।

हामीले यसलाई काठमाडौं र सिन्धुपाल्चोकको केही भूभागमा चलाएर पनि हेरेका थियौं । उक्त ड्राइभका केही कठिन भूभागमा पनि यसलाई चलाइयो । हामीले उक्त ड्राइभका क्रममा उत्कृष्ट रिजल्ट र एक्सपेरियन्स पाएका थियौं ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टुले पनि छोटो समयमा एक हजार युनिट बिक्री पुरा गरेको छ । यस्तोमा धेरै भिन्नता भएपनि यी दुई मोडल नै सन् २०२५ को लिडर हुन् ।

एमजी एस फाइभ चलाउँदा यसमा प्रयोग भएको हिटेड सिट, हिटेड स्टेरिङ, निकै आरामदायी लेदर सिट, एमजी पाइलटको सहज प्रयोग, सुरक्षाको लागि ६ एयरब्याग जस्ता कुराले ढुक्क बनाएको थियो । अझ, रियर ह्वील ड्राइभ मोटर र पछाडि दिइएको इन्डिपेन्डेन्ट सस्पेन्सले खराब र कच्ची बाटोमा पनि राम्रो पर्फमेन्स प्रदान गरेको थियो ।

काठमाडौंको उत्तरपूर्वमा रहेको जहरसिंह पौवा, नाङलेभारे हुँदै मेलम्ची रोडमा यसको टेस्ट ड्राइभ गरिएको थियो । जहाँ उकालो, ओरालोे र कच्ची बाटोको समिश्रण हामीले भेट्टाएका थियौं ।

एमजी एस फाइभमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइन्छ । सानो ब्याट्रीले ३४० किलोमिटरदेखि र ठूलो ब्याट्रीले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ ।

एमजी एस फाइभको साइज, फिचर र लग्जरीपन हेर्दा यसको मूल्य निकै आकर्षक लाग्यो । दुई ब्याट्री अप्सनको साथ उपलब्ध एसयूभी तीन भेरियन्टमा किन्न पाइन्छ । इन्ट्री भेरियन्ट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार र टप भेरियन्ट डिलक्सको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ । ठूलो ब्याट्री भएको लग्जरी भेरियन्ट किन्न भने ५४ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

अन्य फिचरको आधारमा पनि एमजी एस फाइभ अब्बल देखिन्छ । यसमा आई-स्मार्ट एपहरू छन् । स्पोर्टीफाइ, युट्युब, टिकटक जस्ता एपहरू इन्ब्युल्ट पाउन सकिन्छ । जसले आधुनिक उपभोक्तालाई मनोरञ्जन र कनेक्टिभिटी प्रदान गर्छ ।

एमजी एस फाइभ कम्प्याक्ट क्रसओभर एसयूभी हो । यसले सहरी क्षेत्रमा सजिलो पार्किङ र ह्याण्डलिङ प्रदान गर्छ । यसको डिजाइन र फिचरहरूले युवा र प्रविधिमा रुचि राख्ने उपभोक्तालाई आकर्षित गर्ने देखियो ।


Back_to_top