काठमाडौं । केटीएमले आफ्नो लोकप्रिय ड्युक सिरिजलाई २०२६ भर्सनमा अपडेट गरी बजारमा ल्याउने तयारी सुरू गरेको छ ।
केटीएम इन्डियाले नयाँ वर्ष लागेसँगै आफ्नो मोडलहरूलाई अपडेट गर्न थालेको हो । सोही क्रममा कम्पनीले अपडेट गरेको नयाँ ड्युक २०० औपचारिक लन्चअघि नै भारतका विभिन्न शोरुमहरूमा देखिन थालेको हो ।
शोरुममा देखिएको २०२६ भर्सन केटीएम २०० ड्युक चाँडै आधिकारिक रूपमा भारतमा लन्च हुने भारतीय मिडियाहरूले बताएका छन् । साथै, मिडिया रिपोर्ट अनुसार नयाँ ड्युकको एक्स-शोरूम मूल्य करिब १ लाख ९३ हजार ९१३ रुपैयाँ भारु रहने जनाएको छ ।
डिजाइनको हिसाबले नयाँ २०० ड्युक हालको मोडलसँग धेरै मिल्दोजुल्दो देखिन्छ । तर यसमा नयाँ कलर ग्राफिक्स र अन्य केहि पार्टस परिवर्तन भएको छ । नयाँ कलर ग्राफिकले मोटरसाइकललाई फरक पहिचान दिएको छ ।
मोटरसाइकलमा एट्लान्टिक ब्लू नामक नयाँ कलर अप्सन थपिएको छ । यसमा ओरेन्ज र ब्लूको आकर्षक संयोजन पाइन्छ । त्यस्तै, यसको ट्याकंमा ड्युक ब्राण्डिङलाई सानो बनाएर २०० लाई बढी हाइलाइट दिइएको छ ।
ड्युकमा ५ इन्चको टीएफटी डिस्प्ले यथावत राखिएको छ । जसले नेभिगेसन र अन्य राइडरलाई आवश्यक पर्ने जानकारीहरू हेर्न सकिन्छ ।
ड्युकको कम्पोनेन्टतर्फ केही महत्वपूर्ण अपडेट गरिएको छ । अगाडिको ब्रेक ३०० एमएमबाट बढेर ३२० एमएममा अपग्रेड भएको छ । जसले ब्रेकिङ क्षमतालाई अझै सुधार गरेको छ ।
हलुका किसिमको अलोय ह्वील, कास्ट मेटल फुटपेग, नयाँ ग्रयाब रेल, यूएसबी टाइप सी पोर्ट थपिएको छ भने नयाँ ड्युक २०० मा ४३ एमएम यूएसडी फोर्क हटाएर ३७ एमएमको डब्लूपी एपेक्स यूएसडी फोर्क र पछाडिको टायर १५० बाट घटेर १४० सेक्सन भएको छ ।
यसको इन्जिनमा केही परिवर्तन भएको छैन । यसमा १९९ सीसी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एफआई, बीएस ६ इन्जिन छ । यसले अधिकतम २५ पीएस पावर र १९.५ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ ।


