एटो वानको महंगो र सस्तो मध्ये कुन भेरियन्ट किन्दा ठिक ?

काठमाडौं । एउटै मोडलमा दुईदेखि तीन भेरियन्ट सामान्य लाग्छ । केही फिचरको थपघट भएर आउने भेरियन्टहरुको मूल्य पनि फरक हुन्छ ।

विद्युतीय गाडीमा पेट्रोलको तुलनामा कम भेरियन्ट हुन्छ । तर, मूल्यको फरक भने अल्ली बढी हुने गरेको पाइन्छ । त्यसो हुनुमा ईभीमा ब्याट्री र मोटर साइजमा फरक भएर हो ।

ईभीमा प्रयोग हुने ब्याट्री साइजले मूल्यमा ठूलै अन्तर पार्छ । मोटर पवारले करमा फरक पार्ने भएको कारण एउटा भेरियन्टबाट अर्को भेरियन्टको मूल्य ‘ग्याप’ फरक हुन्छ ।

साइमेक्स इंकले साउन अन्तिममा नेपाल ल्याएको बीवाइडी एटो वान डाइनामिक र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । बीवाइडीको इन्ट्री मोडलको रुपमा नेपाल आएको एटो वान धेरैले अटो शोमा बुकिङ गरेको मोडल पनि हो ।

लामो समय नेपाल र चीन जोड्ने नाका बन्द हुँदा बल्ल काठमाडौं आइपुगेको एटो वान डेलिभरी सुरु भएको छ । यस्तोमा यी दुई मध्ये कुन भेरियन्ट किन्दा बढी फाइदा उठाउन सकिन्छ भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

मूल्यमा ४ लाख फरक

कम्पनीले एटो वानको दुई भेरियन्टमा ४ लाख रुपैयाँ भन्दा बढी तिर्नु पर्ने हुन्छ । एटो वानको डायनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

महंगो भेरियन्ट प्रिमियमको मूल्य ३२ लाख ९९ हजार कायम भएको छ । यदि, तपाईले एटो वानको टप भेरियन्ट किन्नुभयो भने ४ लाख ४ हजार बढी तिर्नु पर्छ ।

ब्याट्री साइज फरक

एटो वान दुई ब्याट्री अप्सनमा आएको छ । ब्याट्री साइज अनुसार नै दुई बीचमा ४ लाखभन्दा बढीको फरक भएको हो । ब्याट्री फरक भएपनि मोटर साइज भने दुबै भेरियन्टमा समान ४५ किलोवाट छ ।

एटो वानको डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर र प्रिमियभ भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । ४ लाख रुपैयाँ बढी तिर्दा ८ किलोवाट बढी क्षमताको ब्याट्री पाउन सकिन्छ ।

दैनिक रुपमा तपाईको यात्रा धेरै हुन्छ भने तपाईको लागि ठूलो ब्याट्री भएको प्रिमियम भेरियन्ट उपयुक्त हुन्छ ।

क्याविन फिचरमा फरक

बीवाइडीले ब्याट्रीको अलावा फिचरमा पनि फरक बनाएर एटो वानका दुई भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले एटो वानको प्रिमियम भेरियन्टमा फोर वे एड्जस्टेवल स्टेरिङ कोलुम दिएको छ ।

डाइनामीक भेरियन्टमा टु वे एड्जस्टेवल स्टेरिङ छ । त्यस्तै प्रिमियममा ड्राइभर सिट ६ तरिकाले मिलाउन मिल्ने इलेक्ट्रीक सिट छ । जबकी डायनामीकमा ४ तरिकाले मिलाउन मिल्ने म्यानुअल मात्रै छ । प्रिमियम किन्नेले वायरलेस मोवाइल चार्जिङ प्याड पनि पाउने छन् । जुन डायनामीक भेरियन्टमा छैन ।

सेफ्टी फिचरको फरक

एटो वानको डायनामीक र प्रिमियम भेरियन्टमा एयरव्यागको संख्यामा फरक छ । डायनामीकमा ४ वटा मात्रै एयरव्याग छ । प्रिमियम भेरियन्टमा ६ वटा एयरव्याग पाउन सकिन्छ ।

एटो वानको डायनामीकमा २ वटा फ्रन्ट एयरव्याग, साइड कर्टन एयरव्याग मात्रै छ । प्रिमियममा भने ड्राइभर र फ्रन्ट प्यासेन्जरलाई साइड एयरव्याग पनि छ ।

निस्कर्ष

बीवाइडी एटो वानको डायनामीक र प्रिमियम दुबै भेरियन्टको साइज र बाहिरी बनोट उस्तै छ । ब्याट्रीको साइजसँगै यसको रेन्ज समेत फरक भएकाले धेरै रेन्ज चाहिनेले प्रिमियम र सिटी ड्राइभ मात्रै गर्नेले डायनामिक छनौट गर्दा सहि निर्णय हुन सक्छ ।


Back_to_top