दुई सातापछि डेलिभरी सुरु हुँदै एटो थ्रीको ‘एड्भान्स भेरियन्ट’

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो थ्रीको एड्भान्स भेरियन्ट डेलिभरी सुरु गर्न लागेको छ । अहिले बुकिङ लिइरहेको एड्भान्स भेरियन्ट एटो थ्रीको सबैभन्दा कम मूल्यमा पाइने एसयूभी हो ।

‘देशभर निकै राम्रो बुकिङ पाएका छौं । साउनको दोस्रो साताबाट डेलिभरी दिने योजना बनाएका छौं’, साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले मेरोअटोसँग भने ।

सरकारले कर वृद्धि गरेसँगै साइमेक्सले ५० किलोवाट आवरको ब्याट्री भएको एटो थ्रीको नयाँ भेरियन्ट ल्याउने घोषणा गरेको थियो । कम्पनीले यसको मूल्य यसअघि बिक्री गर्दै आएको ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर रहेको भेरियन्टको तुलनामा एड्भान्स भेरियन्टको मूल्य झण्डै १० लाख रुपैयाँ कम तोकेर बुकिङ लिएको हो ।

पछिल्लो पटक नेपाल आएर खुब चर्चा कमाएको बीवाइडी एटो-३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेसँगै यसमा ग्राहकले खुब रुची देखाएका छन् । मूल्यमा झण्डै १० लाख रुपैयाँ फरक भएपनि फिचरमा भने धेरै भिन्नता रहेको छैन ।

एटो-३ को एड्भान्स भेरियन्टमा बायरलेस चार्जर छैन । अटोमेटीक वान टच टेलगेट पनि नयाँ भेरियन्टमा छैन । यसको प्रयोगले एउटा वटमलाई एक पटक थिच्दा अटोमेटीक टेलगेट (डिक्की) बन्द गर्न सकिन्छ । तर, यो फिचरलाई खासै धेरै महत्वपूर्ण मानिदैन ।

एड्भान्स भेरियन्टमा ५० किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले ७० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ ।

यसमा १७ इन्चको ह्वील, ६ वटा स्पीकार, सिंगल कलर एम्बीयन्ट लाइट पाउन सकिन्छ । यसका अलावा सबै फिचर सुपेरियर भरियन्टमा भएका नै एड्भान्स भेरियन्टमा पाउन सकिन्छ ।


Back_to_top