बीवाइडीको नयाँ एसयूभी ‘एटो-३ अप’, कहिले आउँछ नेपाल ?

काठमाडौं । बीवाइडीको नयाँ एसयूभीको नाम ‘एटो-३ अप’ हुने भएको छ । अष्ट्रेलियामा नयाँ मोडलको ट्रेडमार्क दर्ता भएसँगै कम्पनीको नयाँ मोडलको नाम अटो-३ अप हुने भएको हो ।

चीनमा ‘युवान अप’ नामबाट बिक्री हुँदै आएको एसयूभी एटो-३ कै प्लेटफर्ममा बनेको हो । यसलाई धेरैले अटो-२ नामबाट आउने अनुमान गरेका थिए । तर, अन्तर्राष्ट्रिय बजारमा एटो-३ अप नाम दर्ता भएको हो ।

चिनियाँ बजारमा अप एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । जसको सुरुवाती मूल्य १३ हजार ४०० डलर छ भने टप भेरियन्टको मूल्य १६ हजार ६०० अमेरिकी डलर तोकिएको छ ।

बीवाइडीको नयाँ एटो-३ अपमा ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार सानो ब्याट्रीले ३०१ किलोमिटर र ठूलो ब्याट्रीले ४०१ किलोमिटर रेन्ज दिनेछ । यसको लङ रेन्ज भेरियन्टको डब्लूएलटीपी रेन्ज भने ३५० किलोमिटर छ ।

ब्याट्री जस्तै एटो-३ अप मोडलमा मोटर पनि दुई अप्सनमा उपलब्ध छ । अहिले डल्फीनमा प्रयोग भएको ७० किलोवाट र ठूलो १३० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।

बीवाइडीको इ-प्लेटफर्म ३.० मा बनेको अप मोडलको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ । यही प्लेटफर्ममा एटो-३ पनि बनेको हो ।

कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिएको छ । यसलाई कम्पनीले अप्सनल फिचरको रुपमा प्यानारोमिक सनरुफ र लगेज र्याक दिएर ल्याउने छ । सेमी हिडन डोर ह्याण्डल रहेको एटो-३ अप १६ र १७ इन्चको दुई ह्वील अप्सनमा आउने छ ।

अन्तर्राष्ट्रिय बजारमा प्याटेन्ट दर्ता भएको एटो-३ अप मोडल नेपाल पनि आउने छ । अष्ट्रेलिया पनि नेपाल जस्तै राइट ह्याण्ड ड्राइभ सिस्टम भएको देश हो । त्यसैले चाँडै नेपाल पनि आउने सम्भावना रहेको छ ।


Back_to_top