बीवाइडीको धारिलो ‘ब्लेड टेक्नोलोजी’

काठमाडौं । विद्युतीय सवारीसाधनको विक्री बढ्न थालेसँगै विद्युतीय गाडी आयात गर्ने कम्पनीहरु नयाँ-नयाँ प्रोडक्ट बजारमा ल्याउन लागि परेका छन् । नेपालमा सन् २०१७ मा नै आएर विशेष क्षेत्रमा अलग पहिचान बनाउन सफल बीवाइडी अहिले निकै चर्चामा रहेको छ ।

बीवाइडीको चर्चा बढ्नुमा यसको विक्री संख्या, नयाँ मोडल र ब्लेड ब्याट्री प्रमुख कारण हो । चिनियाँ ब्राण्ड बीवाइडीले चीनको अलावा अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो सफलता पाउन सुरु गरेको छ । विभिन्न रेन्जमा आएका नयाँ मोडलले ग्लोबल मार्केटमा मासिक १ लाख हाराहारी यूनिट विद्युतीय गाडी विक्री गर्न सक्ने अवस्थामा बीवाइडी पुगेको छ ।

बीवाइडी विद्युतीय गाडीको लागि आवश्यक मुख्यत ब्याट्री र मोटर आफैँ उत्पादन गर्ने कम्पनी हो । बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्न अमेरिकी प्रतिस्पर्धी टेस्लादेखि विश्वकै सर्वाधिक कार उत्पादन गर्ने टोयोटासम्म तयार भएसँगै ब्लेड ब्याट्रीले एक पटक सबैको ध्यान खिच्न सफल भएको छ । यसलाई ‘बीवाइडीको धारिलो ब्लेड’ भन्दा फरक पर्दैन ।

नेपालमा पनि बीवाइडीले ब्लेड ब्याट्री भएको नयाँ जेनेरेशन इ६ ल्याएसँगै विक्रीमा निकै राम्रो गरिरहेको छ । कम्पनीले ब्लेड टेक्नोलोजीमा पनि पहिलेको जस्तै लिथियम आयोन फस्फेट प्रविधिको प्रयोग गरेको छ । तर, यसको साइज भने फरक दिएको छ ।

ब्लेड ब्याट्रीको प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई व्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।

ब्लेड ब्याट्रीको फाइदा

ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पूर्याउनु हो, त्यही कारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ ।

यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ । बीवाइडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

ब्लेड ब्याट्रीको अर्को सबल पक्ष भनेको सुरक्षा हो । बीवाइडीले एनसीएम, एलपीएफ तथा नयाँ ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) पनि गरेको छ । जसमा ब्लेड ब्याट्री खरो उत्रेको थियो ।

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जसको कारण पड्कने र धुँवा आउने कुनै समस्या नदेखिएको कम्पनीको दावी छ । सुरक्षाको हिसावले उत्कृष्ट रहेको कारण ठूला कार निर्माताहरुको नजर यसमा परेको हो ।


Back_to_top