डल्फीन किन्न ८ लाख डाउन पेमेन्ट, यस्तो छ मासिक किस्ता

काठमाडौं । बीवाइडी डल्फीन नाडा अटो शोमा सर्वाधिक चर्चा पाइरहेको मोडल छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले भदौ २४ गते सार्वजनिक गरेको डल्फीन नाडा अटो शोमा राम्रो बुकिङ पाउन सफल मोडल हो ।

मूल्यको हिसावले ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको कारण डल्फीन प्रिमियम ह्याचव्याक सेग्मेन्टमा चर्चा पाउन सफल भएको हो । यो सेग्मेन्टको बजार पेट्रोलियम सेग्मेन्टमा निकै खुम्चेको अवस्थामा डल्फीनले यसलाई चलायमान बनाउने देखिएको छ ।

नाडा अटो शोको चौथो दिनसम्ममा नै करिब २०० यूनिट बुकिङ पुगेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले ३९ लाख ८० हजार मूल्य तोकेर बिक्री सुरु गरेको कारण यसलाई किन्ने ग्राहकले कम्तीमा मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । त्यो भनेको ७ लाख ९६ हजार रुपैयाँ हो । त्यस बाहेक बाँकी ३१ लाख ८४ हजार रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।

अहिले नाडा अटो शोमा सहभागि बैंकहरुले पनि निकै आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएका छन् । बैंकहरुले १० देखि ११ प्रतिशत हाराहारीमा कर्जा उपलब्ध गराएका छन् ।

यसरी उपलब्ध कर्जा ७ वर्षको मासिक किस्तामा भुक्तानी गर्दा मासिक ५४ हजार ५२० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्छ ।

यस्तो छ डल्फीन

ह्याचव्याक सेग्मेन्टमा आएको बीवाइडी डल्फीनमा ४४।९ किलोवाट आवर ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

कम्पनीले यसमा ७० किलावाट क्षमताको मोटर जडान गरेको छ । लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको डल्फीन निकै प्रिमियम देखिन्छ ।

यसमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ । निकै स्टाइलिस डिजाइनमा तयार भएको डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । घरमै चार्जगर्न भने ७ किलोवाटसम्मको एसी चार्जर प्रयोग गर्न सकिन्छ ।


Back_to_top