बजारमा नयाँ उत्साह थप्न सफल ‘नाडा अटो शो’ आज समापन हुने

काठमाडौं । संसय र आर्थिक मन्दीको त्रासका बीच भएको नाडा अटो शो २०२३ आज समापन हुँदैछ । भदौ २६ गतेबाट सुरु भएको अटो शो आज साँझ समापन हुन लागेको हो ।

६ दिनसम्म चलेको नाडा अटो शो आर्थिक मन्दीले निम्ताएको निरास समयका बीचमा सुरु भएको थियो । तर, अवलोकनकर्ताको सहभागिता र विद्युतीय सवारीसाधनमा देखिएको क्रेजले धेरैलाई उत्साहित बनाएको छ ।

आयोजकले करिब ७० हजार मानिसले अवलोकन गर्ने लक्ष्य राखेकोमा त्यो लक्ष्य लगभग पुरा भएको छ । मेलाको ५ औं दिन पुरा हुँदा करिब ६५ हजार मानिसले अटो शो भ्रमण गरिसकेका छन् ।

‘हामीले सोचेभन्दा धेरै मानिसले अटो शो भ्रमण गरेका छन् । हाम्रो तथ्यांकमा पाँच दिनमा ६४ हजार ९०० हाराहारीले अवलोकन गर्नु भएको छ । आज कम्तीमा १२ देखि १५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ’, अटो शो संयोजक अनुपकुमार बरालले भने ।

यस वर्षको अटो शोमा सबैभन्दा धेरै विद्युतीय कारमा आकर्षण देखियो । त्यसमा पनि विशेषगरी टाटा, बीवाइडी, एमजी, नेटा र सेरेस जस्ता ब्राण्डमा सबैभन्दा धेरै भिडभाड देख्न सकिन्छ ।

त्यस्तै अटो शोमा रहेका सिट्रोन, ग्रेटवाल मोटर्ससँग पनि ईभी उपलब्ध भएको कारण ग्राहकले चासो देखाएका छन् । परम्परागत र न्यू इनर्जी भेहिकलमा बलियो उपस्थिति रहेको हुन्डाई र मिफा-९ ल्याएको मेक्सस ब्राण्डमा पनि राम्रो भिडभाड देख्न सकिन्थ्यो ।

सुजुकी, निसान, महिन्द्रा र कियाले पनि आफ्नो स्टलमा ग्राहकलाई आकर्षित गर्न सकेका छन् । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भएको अटो शोमा राम्रो संख्यामा गाडी बुकिङ भएको अनुमान लगाइएको छ ।

दुई पाङ्ग्रे सवारीसाधनमा भने ग्राहकको आकर्षण सोचेजस्तो हुन सकेको छैन । अटो शोमा नयाँ मोडल ल्याउने एकाध ब्राण्ड बाहेक अधिकांश मोटरसाइकलको स्टलमा अवलोकनकर्ताको चासो कम भएको हो कि भन्ने भान हुन्छ ।

रोयल इनफिल्ड, टीभीएस जस्ता ब्राण्डले नयाँ मोडल ल्याएर ग्राहक तानेको देख्निछ । यस बाहेक सेगवे, याडिया र बेनेली जस्ता ब्राण्डमा ग्राहकको उपस्थिति राम्रो रहेको थियो ।


Back_to_top