काठमाडौं । साइमेक्स इंकले नेपालमा बीवाइडीको गाडी विक्री गर्न थालेको ६ वर्षपछि आधुनिक शोरुम निर्माण गरेर प्यासेन्जर कार सेग्मेन्टमा आक्रमक बन्ने तयारी थालेको छ । नयाँ शोरुम, उपत्यका बाहिर ७ वटा डिलर नेटवर्क, आधुनिक सुविधा सम्पन्न वर्कसप जस्ता पूर्वाधार निर्माणसँगै प्रिमियम क्रसओभर एटो थ्री पनि सार्वजनिक गरेको छ ।

मूल्यका हिसावले महंगो भएपनि फिचरको हिसावले टोयोटा र्याभफोरलाई प्रतिस्पर्धा गर्न सक्ने एटो थ्रीले कस्तो ब्यापार गर्छ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ । आफ्नो नयाँ शोरुम र नयाँ मोडल एटो थ्री सार्वजनिक कार्यक्रममा साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भोलिको दिनमा थप नयाँ मोडल ल्याउँदै ग्राहकको माग सम्बोधन गर्न बीवाइडी तयार रहेको जनाएकी थिइन् ।
‘हामी विश्वब बजारमा जसरी बीवाइडी पहिलो स्थानमा पुगेको छ, त्यसैगरी नेपालमा पनि ग्राहकले मनपराउने मोडल ल्याएर बजार विस्तार गर्न चान्छौं’, आफ्नो भाबी योजना बारे श्रेष्ठले मेरोअटोसँग भनिन् ।
नेपाल सरकारले आई इन्जिन भएका निजी कार सेग्मेन्टमा विक्री हुने गाडीको विगत ७ महिनादेखि आयात प्रतिबन्ध लगाउँदै आएको छ । यस्तो समयमा विद्युतीय कार प्रतिको बढ्दो आकर्षणलाई सदुपयोग गर्न साइमेक्स इंकले डल्फीन ह्याचव्याक नेपाल ल्याउन सक्ने छ ।
ह्याचव्याक सेग्मेन्टमा आउने बीवाइडी डल्फीनमा ३०.७ र ४४.९ किलोवाट आवरको दुई फरक व्याट्री प्याक पाउन सकिन्छ । यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ । यसलाई अहिले कम्पनीले चिनियाँ बजारमा विक्री गर्दै आएको छ । चाँडै यो मोडल जापान, अष्ट्रेलिया, भारत, नेपाल जस्ता देशमा विक्री सुरु हुनेछ ।
अल न्यू इ सिक्सको जस्तै यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । जसको कारण नेपालमा १० प्रतिशत भन्सार तिरे पुग्छ । यसमा अन्तःशुल्क लाग्ने छैन । कम्पनीले डल्फीनको सानो व्याट्रीले ४०० किलोमिटर र ठूलो व्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाएको छ । डब्लूएलटीपीले भने सानो व्यट्रीले ३०० किलोमिटर र ठूलो व्याट्रीले ४२५ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।
डल्फीन भेरियन्ट अनुसार फरक लम्बाईमा उपलब्ध हुनेछ । यसको लम्बाई ४०७० एमएमदेखि ४१५० एमएमसम्म रहेको छ । तर, चौडाई र उचाई भने सबै भेरियन्टमा समान रहने छ । यसको चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । डल्फीनको ग्राउन्ड क्लियरेन्स भने निकै उत्कृष्ट १८५ एमएम रहेको छ । यसमा १६ इन्चको अलोय ह्वील प्रयोग भएको छ ।

