हुन्डाईले हात झिकेको सेग्मेन्टमा सुजुकीको इन्ट्री

काठमाडौं । नेपालमा हुन्डाई आई २० एक्टीभ निकै सफल मोडल थियो । तर, कम्पनीले सन् २०२० बाट यसको उत्पादन बन्द गर्यो । जसको कारण नेपालमा आई २० एक्टीभ मनपराउने ग्राहक पनि सब फोर मिटर सेग्मेन्टमा उक्लिए ।

यही सेग्मेन्टमा मारुती सुजुकी इन्डियाले बलेनो क्रसओभर बजारमा ल्याउने भएको छ । एकपछि अर्को अर्को नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको मारुती सुजुकीले बलेनो क्रसओभरलाई ‘वाइटीबी’ कोड नेम दिएर उत्पादनको काम गरिरहेको छ । कम्पनीले सन् २०२३ जनवरीमा यसलाई बजारमा उतार्ने अनुमान गरिएको छ ।

मारुती सुजुकीको हर्टटेक प्लेटफर्ममा बनाइरहेको यो क्रसओभर मोडलमा धेरै फिचर बलेनोबाटै दिइने छ । आधुनिक फिचर लोडेड हुने नयाँ क्रसओभर नेपाली बजारमा पनि आउने छ ।

कम्पनीले नयाँ क्रसओभर मोडलमा १.२ लिटर क्षमताको चार सिलिण्डरको पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले ८८ पीएस पावर र ११३ एनएम पिक टर्क उत्सर्जन गर्छ । यो क्रसओभरमा ५ स्पीडको म्यानुअल र एएमटी गियरबक्स रहने अनुमान गरिएको छ ।

भारतीय बजारमा टोयोटा र सुजुकी बीच भएको सहकार्य अनुसार दुबै कम्पनीले एउटै मोडललाई फरक फरक नामबाट ल्याइरहेका छन् । त्यसैले यसलाई पनि मारुती सुजुकी र टोयोटा दुबै ब्राण्डमा देख्न सकिने अनुमान गरिएको छ ।

पछिल्लो समय अल्टो, सेलेरियो, ग्राण्ड भिटार, नयाँ जेनेरेशन ब्रेजा, नयाँ जेनेरेशन बलेनो जस्ता मोडल बजारमा ल्याएको सुजुकीले ल्याउने यो अर्को ठूलो मोडल हुने अपेक्षा गरिएको छ ।


Back_to_top