काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीले सन् २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्ष सन् २०२४ कोभन्दा ३ लाख युनिट कार बढी बेचेको हो ।
चिनियाँ जाइन्टले सन् २०२५ मा ५५ लाख युनिट कार उत्पादन र बिक्री गर्ने लक्ष्य राखेको भए पनि ४५ लाख ५० हजार युनिट मात्रै बिक्री गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले मात्रै वृद्धि भएको देखिन्छ ।
सन् २०२१ देखि निरन्तर दोहो अंकको वृद्धि पाएको बीवाइडी पहिलो पटक ‘सिंगल डिजिट ग्रोथ’मा रोकिएको छ । सन् २०२१ मा २३१ प्रतिशतको वृद्धि पाएको बीवाइडीले सन् २०२२ मा २१२ प्रतिशतको ग्रोथ भेट्टाएको थियो ।
सन् २०२३ मा ६२ प्रतिशत र २०२४ मा ४१ प्रतिशतको वृद्धि गर्न सफल कम्पनी २०२५ मा ७ प्रतिशतको वृद्धि गर्न सफल भएको छ । सन् २०२५ मा बीवाइडीले ब्याट्री इलेक्ट्रीक र हाइब्रिड कार क्रमशः ४९/५१ प्रतिशत बिक्री गरेको हो ।
बीवाइडीले सन् २०२५ मा आफ्नो निर्यातमा ठूलो उछाल ल्याएको छ । सन् २०२४ को तुलनामा बीवाइडीको निर्यात १५०.७ प्रतिशतले बढेको हो ।
कम्पनीले १० लाख ४६ हजार युनिट कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दा चीनमा ३५ लाख आसपास युनिट बिक्री गरेको देखिन्छ ।
कति आयो नेपाल ?
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२५ (जनवरी १-डिसेम्बर १५) मा २ हजार ७३० युनिट गाडी नेपाल ल्याएको छ । नेपाल ल्याएको ईभी बीवाइडीले गरेको कुल निर्यातको ०.२६ प्रतिशत हो ।
बीवाइडीले सन् २०२५ मा आफ्नो चर्चित एसयूभी एटो थ्री, ह्याचब्याक कार डल्फिन र एटो वानसँगै एटो टु एसयूभी राम्रो संख्यामा आयात गरेको देखिन्छ । त्यसको अलावा कम्पनीले सिलायन सेभेन, सार्क पीकअप र एम सिक्स एमपीभी पनि आयात गरेको छ ।

