काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले जुन महिनामा २ लाख ५१ हजार ६८५ यूनिट कार बिक्री गर्न सफल भएको छ । उक्त बिक्री आंकडा गत वर्षको जुन महिनामा बिक्री भएको १ लाख ३४ हजार ३६ यूनिटभन्दा ८८ दशमलव ७९ प्रतिशतले बढि हो ।
बीवाइडीले आफ्नो बिक्री मे महिनाको तुलनामा पनि केही वृद्धि गरेको छ । कम्पनीले २०२३ मेमा २ लाख ४० हजार २२० यूनिट कार बिक्री गरेको थियो ।
बीवाइडीले गत वर्षको मार्च महिनाबाट इन्टरनल कम्बस्चन इन्जिन मात्रै भएको गाडीको उत्पादन बन्द गरिसकेको छ । कम्पनीले अहिले प्लगइन हाइब्रिड र प्योर ईभी मात्रै उत्पादन गर्दै आएको छ ।
बीवाइडीले जुनमा कमर्शियल भेहिकलको पनि बिक्री गरेको छ । कम्पनीले उक्त महिनामा १ हजार ३६१ वटा कमर्शियल गाडी बिक्री गरेको हो । बीवाइडीले चीन बाहिर जुन महिनामा १० हजार ५३६ यूनिट गाडी निर्यात गरेको छ ।
बीवाइडीले सन् २०२३ को ६ महिनामा कुल १२ लाख ५५ हजार ६३७ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ । कम्पनीले सन् २०२३ मा ३० लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष भेट्टाउन बीवाइडीले अबको बाँकी ६ महिनामा प्रति महिना २ लाख ९० हजारका दरले गाडी बिक्री गर्नु पर्ने हुन्छ ।