काठमाडौं । चिनियाँ अटोमोवाइल स्टार्ट अप कम्पनी होजोन मोटर्सले अप्रिलदेखि जुनसम्मको दोस्रो क्वाटरमा ३६ हजार २४१ यूनिट ईभी बिक्री गरेको छ । कम्पनीको यो बिक्री अघिल्लो वर्षको सेकेन्ड क्वाटरको तुलनामा ९ दशमलव ८९ प्रतिशतले बढी हो ।
सन् २०२३ को जनवरीदेखि मार्चसम्मको पहिलो क्वाटरको तुलनामा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । नेटाको बिक्री जुन महिनामा १२ हजार १३२ यूनिट भएको थियो ।
कम्पनीले एक महिनामा चीन बाहिर १ हजार २०१ यूनिट ईभी बिक्री गरेको छ । नेपालमा पनि नेटा भी चीनबाटै आयात हुँदै आएको हो ।
सन् २०२३ को ६ महिनामा नेटाले ६२ हजार ४१७ यूनिट विद्युतीय कार बिक्री गर्न सफल भएको छ ।
कम्पनीले जुन महिनामा १ हजार २९८ यूनिट नेटा जीटी स्पोर्टस् कार बिक्री गरेको सार्वजनिक भएको तथ्यांकमा देखिन्छ । यसका अलावा कम्पनीले नेटा एस प्रिमियम सेडान, नेटा यू एसयूभी र सानो कम मूल्यको नेटा भी मोडल बिक्री गर्दै आएको छ ।
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपालमा नेटा भी मोडल ल्याएर बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा नेटा भी राम्रो संख्यामा बिक्री गर्दै आएको छ । चाँडै नेटा यू मोडल पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।


