बीवाइडी सिगल नेपाल आउने पक्का, कति पर्ला मूल्य ?

काठमाडौं । बीवाइडीको चर्चित ह्याचव्याक सिगल नेपाल आउने पक्का भएको छ । कम्पनीले सन् २०२५ को सुरुवातबाट बिक्री गर्नेगरी सिगल नेपाल ल्याउन लागेको हो ।

आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो सबैभन्दा सानो ह्याचव्याक कार सिगल नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको हो ।

‘हामीले आफ्नो इन्ट्री लेभल मोडल नेपाल ल्याउने भएका छौं । केही दिन भित्र स्याम्पल यूनिट नेपाल आउने छ । त्यसको टेष्ट लगायतका प्रक्रिया पुरा गरेर बिक्री सुरु गर्छौं’, साइमेक्स श्रोतले भन्यो ।

सानो ह्याचव्याकको रुपमा विश्वभर चर्चा कमाएको बीवाइडी सिगल मूल्यको कारण पनि चर्चित मोडल हो । १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको सिगल नेपालमा बहु प्रतिक्षित मोडल हो ।

बीवाइडीले चीनमा पहिलो पटक अपग्रेड गरेको सिगल ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । नेपाल कुन भेरियन्ट आउँदैछ भन्ने जानकारी बाहिर आएको छैन ।

इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिटसहित आउने सिगल बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको हो । इन्टेरियरमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.१ इन्चको रोटेवल इन्फोटेन्टमेन्ट सिस्टम, ओटीए अपडेट, चार स्पीकर, भ्वाइस इन्ट्रिगेसन, किलेस इन्ट्री जस्ता फिचर छन् ।

डिसी फास्ट चार्जर सपोर्ट गर्ने सिगलमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसमा रहेको ठूलो ब्याट्रीले ४०५ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

चीनमा बिक्री गर्दा कम्पनीको सबैभन्दा कम मूल्यको ह्याचव्याक कार नेपालमा पनि बीवाइडीको सबैभन्दा सस्तो मोडल बन्नेछ । यद्यपि, यसको मूल्य कति पर्छ भन्ने अहिल्यै एकिन साथ भन्न सक्ने अवस्था छैन ।


Back_to_top