देखियो बीवाइडीको नयाँ ह्याचव्याक कार

काठमाडौं । बीवाइडीले ‘समुन्द्रीक चरो’ सिगेलको नामबाट नयाँ इलेक्ट्रीक ह्याचव्याक कार बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सिगेलको अहिले चीनका विभिन्न स्थानमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् ।

कम्पनीले ल्याउन लागेको नयाँ इलेक्ट्रीक ह्याचव्याक अहिले चीनमा विक्री सुरु भएको डल्फीनभन्दा सानो हुनेछ । बीवाइडीको पछिल्लो ३.० आर्किटेक्चरमा तयार हुँदै गरेको यो कारमा अपवार्ड हेडल्याम्प दिएको देख्न सकिन्छ ।

विशेषगरी सहरी क्षेत्रको लागि तयार गरिएको यो ह्याचव्याक कार ५ सिट क्षमताको हुनेछ । नयाँ कारको ड्यासबोर्ड निकै स्मार्ट हुनेछ ।

फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, सानो साइजको सेन्टर कन्सोल, मल्टीफङ्सनल स्टेरियरिङ ह्वील जस्ता फिचर यसमा रहने छन् ।

नयाँ कारमा दुई मोटर अप्सन उपलब्ध हुनेछ । एउटा भेरियन्टमा ७० किलोवाट र अर्को भेरियन्टमा १३० किलोवाटको मोटरमा उपलब्ध हुनेछ । यसको रेन्ज पनि ठूलो मोटरमा ३०१ र सानो मोटरमा ४०५ किलोमिटरसम्म हुने जनाइएको छ । तर, यसमा रहने ब्याट्री साइजको विषयमा भने कुनै जानकारी दिइएको छैन ।

नेपालमा साइमेक्स इंकले बीवाइडी इ सिक्स र एम थ्री भ्यानको विक्री वितरण गर्दै आएको छ । कम्पनीले चाँडै नै एटो थ्री र डल्फीन पनि नेपाली बजारमा ल्याउने छ । यस्तोमा कम्पनीको आकर्षक नयाँ ह्याचव्याक नेपाल आउने कुरामा दुईमत छैन । तर, यसको विषयमा साइमेक्स इंकले कुनै जानकारी दिएको छैन ।

नयाँ टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्रीको कारण बीवाइडीका कारहरु विश्व बजारमा चर्चित बन्दै गएका छन् । नेपाल जस्ता राइड ह्याण्ड ड्राइभ प्रयोगमा भएका अष्ट्रेलिया, भारत, बेलायत, इन्डोनेशिया, सिंगापुर जस्ता देशमा बीवाइडीले आफ्नो उत्पादन विक्री सुरु गरेको कारण नयाँ कार चाँडै नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top