कति पर्छ बीवाइडी सिलको मासिक किस्ता ? डाउन पेमेन्ट २१ लाख मात्रै

काठमाडौं । बीवाइडी सिल सेडान नेपालमा सार्वजनिक भएको केही दिन मात्रै भएको छ । निकै स्पोर्टी डिजाइनको कारण चर्चामा रहेको सिल विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ ।

सिलको सबैभन्दा सस्तो भेरियन्ट डाइनामिक हो । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ । डाइनामिक भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ४६० किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५.६ इन्चको रोटेड टचस्कृन जस्ता फिचर छन् । यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ ।

कति पर्छ मासिक किस्ता ?

अहिले बैंक तथा वित्तिय संस्थाले १०.५ प्रतिशत हाराहारी ब्याजदरमा नै ईभी किन्न कर्जा सुविधा उपलब्ध गराएका छन् । विद्युतीय कारमा मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले डाइनामिक भेरियन्टको मूल्य १ करोड ५ लाख रुपैयाँ भएको कारण २१ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।

डाउन पेमेन्टपछि ८४ लाख रुपैयाँ कर्जा सुविधा लिन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्ष भित्र पुरा गर्दा मासिक १ लाख ४१ हजार ६३० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्छ ।

त्यसैगरी सिलको दोस्रो भेरियन्ट प्रिमियम हो । यसको मूल्य १ करोड ३९ लाख रुपैयाँ तोकिएको छ । यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।

यसलाई २० प्रतिशत डाउन पेमेन्ट गर्दा २७ लाख ८० हजार रुपैयाँ सुरुमा बुझाउनु पर्छ । साथै, माथिकै जस्तो १०.५ प्रतिशत ब्याजदर र ७ वर्षे अवधिको कर्जा गर्दा मासिक १ लाख ८७ हजार ४९० रुपैयाँ मासिक किस्ता पर्न आउँछ ।

बीवाइडी सिलको टप भेरियन्ट पर्फमेन्स हो । यसको मूल्य १ करोड ८५ लाख रुपैयाँ तोकिएको हो । यसमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसले केबल ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ ।

अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

यसलाई किन्ने ग्राहकले डाउन पेमेन्ट वापत ३७ लाख रुपैयाँ सुरुमा तिर्नुपर्छ भने ७ वर्षसम्मको कर्जा अवधि राख्दा २ लाख ५० हजार हाराहारी मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।


Back_to_top