काठमाडौं । सेडान कारलाई स्पोर्टी डिजाइन दिएर ल्याएसँगै विश्व बजारमा अमेरिकी कम्पनी टेस्लाको मोडल थ्रीले खुबै चर्चा पाइरहेको थियो । टेस्लाको प्रतिस्पर्धी बनेर आएको चिनियाँ ब्राण्ड बीवाइडीले पनि स्पोर्टी सेडान सिललाई बजारमा उतारेर प्रतिस्पर्धा सुरू गरेको हो ।
अहिले यी दुवै मोडल नेपाली बजारमा किन्न पाइन्छ । साइज, पर्फमेन्स र फिचरमा पनि यी दुवै मोडलले प्रतिस्पर्धा गरिरहेका छन् । तर, टेस्ला मोडल थ्री स्टायन्डर्ड भेरियन्टमा मात्रै उपलब्ध छ । बीवाइडीले भने सिलको सबै तीन भेरियन्ट नेपाल ल्याएको छ ।
बनोटमा फरक देख्न सकिने यी दुई स्पोर्टी सेडानमा के कति फिचर फरक छन् भन्ने विषयलाई यहाँ नियालेर हेरौं ।
साइज
लगभग दुवै कारको साइज समान छ भन्दा फरक पर्दैन । लम्बाइ र उचाइमा सिल अगाडि हुँदा चौडाइमा मोडल थ्री अगाडि छ ।
सिलको लम्बाइ ४८०० एमएम, चौडाइ १८७५ एमएम र उचाइ १४६० एमएम छ । यसमा २९२० एमएम लामो ह्वीलबेस दिइएको छ ।
टेस्ला मोडल थ्रीको लम्बाइ ४७२० एमएम, चौडाइ १९३३ एमएम र उचाइ १४४१ एमएम छ । जबकी मोडल थ्रीमा २८७५ एमएमको मात्रै ह्वीलबेस पाउन सकिन्छ ।

रेञ्ज
रेञ्जमा पनि यी दुवै राम्रो कार मानिन्छन् । बीवाइडी सिलले ४६० देखि ५७० किलोमिटरसम्म भेरियन्ट अनुसारको रेञ्ज दिन्छ । नेपालमा उपलब्ध टेस्ला मोडल थ्रीले ५५० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।
ब्याट्री साइज
टेस्लाले मोडल थ्रीमा ५८ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिएको छ । बीवाइडी सिलमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको डाइनामिक भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री छ भने पर्फमेन्स र प्रिमियम भेरियन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

मूल्य
बीवाइडीले डल्फीनको डाइनामिक भेरियन्टलाई १ करोड ५ लाख, प्रिमियम भेरियन्टलाई १ करोड ३९ लाख र पर्फमेन्स भेरियन्टको १ करोड ८५ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
टेस्ला मोडल थ्री एउटा मात्रै भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ पर्छ ।
टप स्पीड
दुवै इलेक्ट्रीक जाइन्ट कम्पनीले आफ्नो कारलाई पर्फमेन्समा आधारित रहेर तयार पारेका छन् । त्यसैले दुवै कारको टप स्पीड क्षमता उत्कृष्ट छ । टेस्ला मोडल थ्री २२५ किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्षम छ ।
बीवाइडी सिलको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ । बीवाइडी सिल पर्फमेन्स भेरियन्ट र टेस्ला मोडल थ्री दुवै कारले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन क्रमशः ७.५ र ५.८ सेकेन्ड लगाउने छ ।

