सर्भिस सेन्टर विस्तारमा आक्रमक बन्दै बीवाइडी, २०२६ भित्रै १७ वटा पुर्‍याउने


काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र बिक्री बढ्दै गएसँगै नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले बिक्रीपछिको सेवा विस्तारलाई तीव्रता दिएको छ। कम्पनीले सर्भिस सेन्टरको संख्या वृद्धि, दक्ष जनशक्ति, स्पेयर पार्ट्सको उपलब्धता र आपत्कालीन सेवामार्फत ग्राहक सेवा सुदृढ बनाउने रणनीति अघि सारेको हो।

बीवाइडी नेपालका सर्भिस हेड सुशील तन्दुकारका अनुसार कम्पनीले सन् २०२२ देखि बिक्रीपछिको सेवालाई आक्रामक रूपमा विस्तार गर्न थालेको हो। त्यसअघि नेपालमा बीवाइडीको आफ्नै सर्भिस सेन्टर नभए पनि अहिले ६ प्रदेशमा गरी १४ वटा सर्भिस सेन्टर सञ्चालनमा आइसकेका छन्।

कम्पनीका सर्भिस सेन्टर बिर्तामोड, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, दाङ र धनगढीलगायतका प्रमुख सहरमा छन्। काठमाडौं उपत्यकामा गौरीघाट र कुपण्डोलमा सेवा उपलब्ध छ।

कम्पनीले दसैँअघि भक्तपुरमा पाँच ‘बे’ क्षमताको नयाँ वर्कशप सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यस्तै, लहानमा क्विक सर्भिस रिपेयर र सुर्खेतमा थ्री एस आउटलेट विस्तार गर्ने योजना छ। यी विस्तारसँगै सन् २०२६ को अन्त्यसम्म सर्भिस नेटवर्क १७ वर्कशपमा पुर्‍याउने लक्ष्य राखिएको तन्दुकारले बताए।

काठमाडौंको बल्खुमा नयाँ वर्कशपका लागि जग्गा छनोट भइसकेको र नक्सा पास अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। नक्सा पासपछि तीनदेखि चार महिनामा सञ्चालन गर्ने योजना छ। कलंकीदेखि बालाजु क्षेत्रसम्म अर्को ठूलो वर्कशपका लागि पनि जग्गा खोजी भइरहेको छ।

कम्पनीले बिक्रीसँगै ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’लाई प्राथमिकता दिएको जनाएको छ। सर्भिस सेन्टर विस्तारमार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।


Back_to_top