काठमाडौं । नेपालमा विद्युतीय कार भन्ने बित्तिकै बीवाइडीको नाम सबैभन्दा अगाडि आउँछ । अन्य ब्राण्डका गाडीका शोरुममा भेटिने उपभोक्ता पनि विश्वकै ठूलो कार निर्माता नै बीवाइडी भएको सुनाउँछन् ।
यसले के देखाउँछ भने बीवाइडीले नेपाली उपभोक्ताको मानस पटलमा बलियो छाप छोड्न सफल भएको बुझाउँछ । सन् २०२२ देखि २०२५ सम्मको समय नेपालमा बीवाइडीको स्वर्ण समय बनेको छ । त्यो स्वर्ण समय बिक्रीले ल्याएको हो ।
सन् २०२१ सम्म केही युनिट कार ल्याएर बिक्री गर्ने बीवाइडी त्यसपछि एकाएक बिक्री बढाउन सफल भयो । पुरानो प्लेटफर्मसँगै हेर्दा पनि औसत लाग्ने ई सिक्स र अल न्यू ई सिक्स मोडल मात्रै भए पनि आधिकारिक बिक्रेता साइमेक्स इंकले ब्याट्री टेक्नोलोजीका बारेमा हरेकको मन मस्तिस्कमा सूचना पुर्याउन सफल भएको थियो ।
बदलिँदो डिजाइनसँगै कम्पनीले अंगीकार गरेको रणनीतिले देशभर बीवाइडीको चर्चा चुलियो । ईभीको प्रभाव वृद्धिसँगै अटोमोबाइल क्षेत्रमा बीवाइडीको विकल्प रोज्ने सीमित हुँदै गए । जसका कारण सन् २०२३ मा करिब ४१ प्रतिशत ईभीको बजार बीवाइडीले कब्जा जमायो ।
बीवाइडीसँग निरन्तर प्रतिस्पर्धामा रहेको एमजी रणनीतिक रूपमा चुक्यो । कहिले समयमा गाडी नआउनु, आएका गाडी राम्रोसँग समयमै बिक्री नसक्नु र ब्राण्ड विकासमा एमजी उदासिन बन्दा त्यसको फाइदा बीवाइडीले उठायो ।

सन् २०२४ पनि संख्यात्मक हिसाबले बीवाइडी अगाडि नै देखियो । तर, उसको बजार हिस्सामा भने ह्रास आयो । उसको बजार हिस्सा घट्नुमा अन्य ब्राण्डको बलियो उपस्थिति मुख्य कारण बन्यो ।
२०२४ मा नेपाली बजारमा थुप्रै ब्राण्ड प्रवेश गरे । जसमा दीपल, नामी, ओमोडा, जेको, एक्सपेङ लगायतका चल्तीका ब्राण्ड थिए । तथापि संख्यात्मक रूपमा उसलाई कुनै पनि ब्राण्डले चुनौति नै दिन सकेन ।
पछिल्लो ५ वर्षको बिक्री
बीवाइडी नेपाल प्रवेश गरेको सन् २०१७ मै हो । नेपालमा बिक्री सुरू भएपनि उसले संख्यात्मक बिक्री २०२० सम्म पनि पाउन सकेको थिएन । कम्पनीले सन् २०२० मा केबल १५ युनिट कार बिक्री गरेको थियो । त्यो सबै पुरानो ई सिक्स मोडल हो ।
साइमेक्स इंकले सन् २०२१ मा २७ युनिट गाडी बिक्री गर्यो । सन् २०२१ कै बीचमा उसले अल न्यू ई सिक्स बजारमा ल्याएको थियो । त्यसपछि नयाँ ई सिक्सको बलमा २०२२ मा १८८ युनिट विद्युतीय गाडी बेच्न सफल भएको थियो ।

एटो थ्री एसयूभी लन्चिङसँगै नेपालमा बीवाइडीको चर्चा चुलिएको हो । खासगरी नेपालमा आर्थिक संकट सुरू भएको थियो । मानिसहरू महँगा गाडी बिक्री गर्दै व्यवहार मिलाउन थालेका थिए । त्यही समयमा एटो थ्री एसयूभी बजारमा आयो । जसले नेपाली बजारमा ठूला गाडी किन्नेलाई उत्तम विकल्प दियो । त्यसपछि निरन्तर उसको बिक्री बढ्दो क्रममा छ ।
सन् २०२३ मा कम्पनीले २१७७ युनिट विद्युतीय गाडी बिक्री गर्दा २०२४ मा ३५३० युनिट गाडी ल्याएर बिक्री गरेको हो । चालु वर्षको अक्टोबर १५ तारिखसम्ममा कम्पनीले २४३६ युनिट गाडी ल्याइसकेको छ । संख्यात्मक रूपमा २०२४ को आयातभन्दा एक हजार युनिट पछाडि देखिन्छ ।
सफलता बारे के भन्छ कम्पनी ?
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार विश्वव्यापी रूपमा कम्पनीले पाउँदै गएको विश्वसनियता नै नेपालमा पनि बीवाइडीको सफलताको राज हो ।
‘विश्वभर कति कम्पनी ईभी सम्भव छैन भनेर बसेका थिए । त्यो समयमा बीवाइडीले गरेको आँट र पाएको सफलता सबैको अगाडि नै छ । त्यसैको आधारमा नेपालमा हामीले काम गरेका हौं’, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले मेरोअटोसँग भनिन् ।

बीवाइडीको ग्लोबल रणनीतिले नेपालमा पनि काम गरेको बताउँदै श्रेष्ठले भनिन्, ‘युवा जनशक्तिको परिचालन, रिसर्च एण्ड डेभलपमेन्टमा गरेको ठूलो लगानी र टेक्नोलोजीमा बलियो पकड बनाउँदा त्यसको फाइदा पुगेको हो ।’
नेपालमा पनि आफूहरूले चीनकै रणनीति लिएको श्रेष्ठ दाबी गर्छिन् । उनी भन्छिन्, ‘नेपाली उपभोक्ता नयाँ टेक्नोलोजी प्रयोग गर्न कन्जुसाई गर्दैनन् । उनीहरूको चाहना अनुसारको उत्पादन बीवाइडीले दिन सक्यो । टेक्नोलोजी लगायतका कुरामा बलियो भएकै कारण ३५ देखि ४५ वर्ष समूहका युवाहरूको आकर्षण भयो । त्यसले सबै उमेर समूह बीवाइडीसँग जोडिएका हुन् ।’
नेपालमा पनि पृथक किसिमको मार्केटिङलाई साइमेक्सले सधैं अगाडि राखेको देखिन्छ । चाहे ब्याट्री टेक्नोलोजी होस्, या गाडीको क्वालिटी र कम्फर्टको विषयमा सधै उसले अगाडि बढेर नागरिकमा विश्वास दिलाउन सफल भयो ।
हरेक तह र तप्कामा मानिसमा ईभी भनेकै बीवाइडी भन्ने सन्देश पुर्याउन सफल कम्पनीले नेटवर्क विस्तार, बिक्रीपछिको सेवाको लागि सर्भिस नेटवर्क निर्माण र पृथक ‘कस्टुमर एक्सपेरियन्स’मा ध्यान दिएको देखिन्छ । जसको प्रत्यक्ष फाइदा बिक्रीमा पुगेको हो ।
बीवाइडीको विश्वव्यापीकरण
बीवाइडीले विश्व अटोमोबाइल बजारमा आफूले प्राप्त गरेको सफलताको मुख्य कडी भर्टिकल इन्ट्रिग्रेसनलाई मान्दै आएको छ । बीवाइडी एसिया प्यासेफिक अटो सेल्स डिभिजनका जनरल मेनेजर लिउ सुइलियाङका अनुसार डिजाइनदेखि इन्जिनियरिङ उत्पादनसम्मका काम आफैँ गर्दा कम्पनीलाई धेरै फाइदा पुगेको हो ।

गाडी उत्पादन गर्दा प्रयोग हुने पार्टस् मध्ये टायर र ग्लास बाहेक सबै कम्पोनेन्ट बीवाइडी आफै उत्पादन गर्छ । ब्याट्री कम्पनीकै रूपमा स्थापना भएको उसलाई ब्याट्री टेक्नोलोजी पनि ब्लेड टेक्नोलोजीले निकै अगाडि देखायो । अहिले पनि विश्व प्रसिद्ध कार कम्पनीहरू टेस्ला, टोयोटा, फोर्ड, किया, मर्सिडज बेन्ज लगायतका कम्पनीले उसकै ब्लेड ब्याट्री प्रयोग गरिरहेका छन् ।
ब्याट्रीको अलावा डीएम–आई हाइब्रिड सिस्टम, ई प्लेटफर्म र गड्स आई एडास सिस्टम, १ मेगावाटको हाइभोल्टेज चार्जर लगायतले पनि उसलाई विश्वभर चर्चाको शिखरमा पुर्यायो । कम्पनीले विकास गरेको डिसुस इन्टेलीजेन्ट चेसिस कन्ट्रोल सिस्टमको प्रयोग बढ्दो छ । सस्पेन्सनमा डिसुस सी, जेड, पी र एक्सको उत्पादन र प्रयोगपछि ईभीलाई जम्प र डान्स गर्न सक्ने बनाएको छ । यसको चर्चा नगरिरहन सकिँदैन ।

