बीवाइडी अप एसयूभी तीन दिनमा २० हजार बुकिङ, के छ खास ?

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीको पछिल्लो एसयूभी यूवान अपले तीन दिनमा २० हजार यूनिट बुकिङ पाएको छ । कम्पनीले एटो-थ्रीभन्दा सस्तो र हल्का सानो साइजमा ल्याएको अप मोडल निकै चर्चामा रहेको मोडल हो ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एटो-२ नाम दिएर ल्याउने अनुमान गरिएको अप मोडलले चीनमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । अन्तर्राष्ट्रिय मिडियामा पनि यसले निकै चासो र चर्चा पाएको छ ।

चिनियाँ बजारमा अप एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । जसको सुरुवाती मूल्य १३ हजार ४०० डलर छ भने टप भेरियन्टको मूल्य १६ हजार ६०० अमेरिकी डलर तोकिएको छ ।

बीवाइडीले नयाँ अप एसयूभीलाई ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याएको हो । कम्पनीको सानो ब्याट्रीले ३०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ ।

त्यसैगरी यसमा रहने ठूलो ४५.१ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ । युवान अप मोडलमा मोटर पनि दुई अप्सनमा उपलब्ध छ ।

अहिले डल्फीनमा रहेको जस्तै ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।

बीवाइडीको इ-प्लेटफर्म ३.० मा बनेको अप मोडलको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ ।

कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिएको छ । यसलाई कम्पनीले अप्सनल फिचरको रुपमा प्यानारोमिक सनरुफ र लगेज र्याक दिएर ल्याउने छ । सेमी हिडन डोर ह्याण्डल रहेको युवान अपमा १६ र १७ इन्चको ह्वील रहने छ ।


Back_to_top