टेस्ला र बीवाइडीको टक्कर, यस्तो छ तीन महिनाको विक्री

काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सवारीसाधन उत्पादक टेस्ला र चिनियाँ ब्राण्ड बीवाइडी बीच न्यू इनर्जी भेहिकलको विक्रीमा कडा प्रतिस्पर्धा देखिएको छ । यी दुबै कम्पनीले विक्री संख्यामा चर्को प्रतिस्पर्धा गरेका हुन् ।

बीवाइडीले चीनमा आफ्नो गाडी उत्पादन गर्छ । उसले पूर्ण इलेक्ट्रीको साथै, प्लगइन हाइब्रिड कार पनि उत्पादन गर्छ । यी दुबै गाडीलाई न्यू इनर्जी भेहिकल भन्ने भएकोले बीवाइडीको विक्री संख्या टेस्लासँग प्रतिस्पर्धी देखिन्छ ।

तर, टेस्लाले विक्री गरेको सबै यूनिट कार पूर्ण इलेक्ट्रीक हुन् । टेस्ला कुनै पनि किसिमको हाइब्रिड टेक्नोलोजीको प्रयोग नगर्ने कम्पनी भएकोले उसका सबै उत्पादन ब्याट्री इभीमा आधारित रहेका छन् ।

सन् २०२२ को जनवरी, फेब्रुअरी र मार्चमा टेस्लाले ३ लाख १० हजार ४८ यूनिट कार विक्री गरेको छ । जसमा मोडल थ्रि र मोडल एसको संख्या सबैभन्दा धेरै रहेको छ ।

बीवाइडीले पनि यो तीन महिनामा २ लाख ८६ हजार ३२९ यूनिट न्यू इनर्जी भेहिकल विक्री गरेको छ । जसमा करिब ५० प्रतिशत प्लगइन हाइब्रिडको हिस्सा रहेको छ ।

टेस्ला र बीवाइडीपछि फक्सवागेनले ९९ हजार १०० र विलिङले ९४ हजार ७७८ यूनिट विक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।


Back_to_top