लाइडारसहित आउँदै बीवाइडीको नयाँ ह्याचब्याक, रेन्ज ४२० किमी

काठमाडौं । बीवाइडीको नयाँ इलेक्ट्रीक ह्याचब्याक ग्रेट सिगल (दा हाइओ)का थप विवरण सार्वजनिक भएका छन् ।

कम्पनीले आफ्नो लोकप्रिय ईभी सिगल (केही बजारमा डल्फिन मिनी/सर्फ/एटो वान) र डल्फिनको बीचमा राखेर ल्याउने नयाँ ह्याचब्याकको तस्बिर र विवरण अनलाइनमा सार्वजनिक भएका हो ।

नयाँ ग्रेट सिगललाई आकार, प्रविधि र कार्यक्षमताका हिसाबले पहिलेको सिगलभन्दा निकै परिमार्जित र प्रिमियम बनाइएको छ । आकर्षक डिजाइ र ठूलो आकारको ग्रेट सिगलको अगाडिको भागमा बन्द ग्रिल, आकर्षक ज्यामितीय रेखा र पोलीगोनल आकारका लाइट क्लस्टरहरू दिइएको छ। यो गाडी नयाँ ‘इन्क ग्रीन’ रङको विकल्पमा पनि उपलब्ध हुनेछ।

साविकको सिगलको तुलनामा ग्रेट सिगलको आकार केही ठूलो बनाइएको छ। यसको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम रहेको छ। गाडीको ह्वीलबेस १५० एमएमले बढाएर २६५० एमएम पुर्याइएको छ । जसका कारण यसको भित्री भाग बीवाइडी डल्फिन जत्तिकै फराकिलो अनुभव हुनेछ।

ग्रेट सिगलको सबैभन्दा ठूलो विशेषता भनेको यसको छतमा जडान गरिएको लाइडार सेन्सर हो । यसले बीवाइडीको ‘गड्स आई बी (डी पाइलट ३००) एभान्स्ड ड्राइभर सहायता प्रणालीलाई सपोर्ट गर्छ । यस प्रविधिको मद्दतले सहरी तथा राजमार्गमा अटोपाइलट नेभिगेसन, अटोमेटेड पार्किङ, ट्राफिक लाइट पहिचान र आफैँ लेन परिवर्तन गर्न सकिनेछ ।

यसको इन्टेरियमा पनि बीवाइडीको परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टर हटाइएको छ । त्यसको सट्टामा ठूलो सेन्ट्रल टचस्क्रीन राखिएको छ। साथै, फराकिलो सेन्टर कन्सोल र सरल टु स्पोक स्टेयरिङ ह्वीलले भित्री लुकलाई आधुनिक बनाएको छ ।

ग्रेट सिगलमा ९५ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर रहेको छ । यसमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग गरिएको छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १५० किमी रहेको छ ।

बीवाइडीको नयाँ ह्याचब्याक ग्रेट सिगल नेपालका लागि समेत उपयुक्त हुने देखिएको छ । हाल बिक्री भइहरेको एटो वानभन्दा ठूलो र धेरै रेन्ज दिने भएकाले नयाँ विकल्पको रूपमा आउन सक्छ ।


Back_to_top