क्याफे रेसर डिजाइनमा बनेको ‘होन्डा सिबी १२५ आर’

होन्डाको ग्लोवल मोडल सिबी १२५ आर निकै सफल मोटरसाइकलको रुपमा रहेको छ । यसलाई होन्डाले नेपाली बजारमा भने बिक्री वितरण गर्दैन । कम सीसीमा नियो स्पोर्टस् क्याफे रेसर डिजाइनमा उत्पादन भएको सिबी १२५ आर उत्कृष्ट मेसिन हो ।

‘सानो मोटरसाइकल धेरै फन’ यो मोटरसाइकलको नारा हो । कम्पनीले यसमा १२४.७ सीसी, पिजिएम एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १३.१४ बीएच पावर प्रदान गर्छ भने ८००० आरपीएममा १०.४ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलले ११.४ सेकेन्डमा ८० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउने कम्पनीको दाबी छ ।

ट्यूबल स्टील फ्रेममा तयार भएको यो मोटरसाइकलमा ४१ एमएमको यूएसडी फर्क र स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

होन्डाले सिबी १२५ आरमा सबै लाइट एलइडी प्रयोग गरेको छ । राउन्ड हेडल्याम्प, डेटाइम रनिङ लाइट जस्ता फिचरले यो मोटरसाइकललाई सडकमा निकै बोल्ड र पृथक देखाउँछ ।

सुरक्षाको हिसावले पनि यसलाई अब्बल बनाइएको छ । यसको अगाडि रेडियल माउन्ट, फोर पिस्टन क्यालिपर, वेभ स्टाइल फ्लोटिङ डिस्क ब्रेक दिइएको छ । पछाडिको चक्कामा टु पिस्टन क्यालपिर डिस्क ब्रेक उपलब्ध रहेको छ । ब्रेकलाई थप सुरक्षित बनाउन यसमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

होन्डाका मोटरसाइकल तथा स्कुटर नेपालमा बिक्री हुँदै आएको भएपनि सिबी १२५ आर भने नेपाल आएको छैन । विशेषत लाइफ स्टाइल प्रडक्टको रुपमा बजारमा बिक्री हुँदै आएको सिबी १२५ आर महंगो मूल्य पर्ने कम सीसीको मोटरसाइकल भएकै कारण नेपालमा बिक्री वितरण नभएको अनुमान लगाउन सकिन्छ ।

होन्डा विश्व बजारमा कार तथा मोटरसाइकल उत्पादनमा अग्रणी कम्पनी मानिन्छ । जापानी अटोमोवाइल कम्पनीका उत्पादन विश्व बजारमा निकै सफल रहेका छन् ।


Back_to_top