काठमाडौं । मारुती सुजुकीले अहिले चल्तीमा रहेका कम्पनीले उत्पादन गर्ने कार मध्य सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने इलेक्ट्रीक कारको मूल्य ७ लाख भारुभन्दा कम हुने अनुमन गरिएको छ ।
मारुती सुजुकीले सन् २०२१ बाट बजारमा बिक्री सुरु गर्ने तयारी गरिरहेको इलेक्ट्रीक कारको परिक्षण तिब्र बनाएको छ । मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कारलाई वागेनआरको प्ल्याटफर्ममा तयार गरिरहेको जनाएको छ ।
आफ्नो पहिलो इलेक्ट्रीक कारको बारेमा बोल्दै मारुती सुजुकी इन्डियाका चेयरम्यान आरसी भार्गबले भने, ‘कम मूल्य, सहज व्याट्री टेक्नोलोजी अहिले भारतीय बजारको आवश्यकता हो । हाम्रो प्राथमिकता भनेकै यहि विषय हो । त्यसैले ग्राहकले कम मूल्यमा उत्कृष्ट इलेक्ट्रीक कार पाउने छन् ।’

करिब २ वर्षअघि ५२ यूनिट प्रटोटाइप तयार गरेर विभिन्न स्थान र फरक ताक्रम भएको स्थानमा परिक्षण गरिरहेको कम्पनीले अब भने प्रडक्सन मोडलको परिक्षण सुरु गरेको हो ।
कम्पनीले आफ्नो गुरुग्राममा रहेको प्लान्टमा यसको उत्पादन गर्ने जनाएको छ । अहिले गुरुग्रामको आसपास क्षेत्रमा नै यसको परिक्षण चलिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कम्पनीले इलेक्ट्रीक कारमा प्रयोग भएको व्याट्री, मोटर, रेञ्ज, पावर लगायतका विषयमा जानकारी दिएको छैन ।

