यामाहाले ल्याउँदै रेट्रो लुक्समा १५५ सीसीको नयाँ मोटरसाइकल

काठमाडौं । यामाहाले अघिल्लो वर्ष थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसियामा सार्वजनिक गरेको रेट्रो लुक्समा आधारित १५५ सीसीको नयाँ मोटरसाइकल ‘यामाहा एक्सएसआर १५५’ दक्षिण एसियामा सार्वजनिक हुने भएको छ । भारतमा सार्वजनिक हुन लागेको यो नयाँ मोटरसाइकल नेपाली बजारमा पनि आउने संभावना भएको मोटरसाइकल हो ।

‘यामाहा एक्सएसआर १५५’को मूल्य थाइल्याण्डमा करिब ३ लाख २० हजार नेपाली रुपैयाँ रहेको छ ।

नयाँ एक्सएसआर १५५ लाई यामाहाले आफ्नो चर्चित मोटरसाइकल एक्सएसआर ९०० मा आधारित रहेर तयार गरेको छ । तर, यसमा रहेको मेकानिकल पार्टस भने आर १५ भी३ बाट लिइएको छ ।

कम्पनीले यहि इन्जिनको प्रयोग गरेर पहिल्यै एमटी-१५ स्ट्रीट फाइटर डिजाइनमा बिक्री गरिरहेको छ । थाइल्याण्डको स्पेसिफिकेसन भएको एमटी १५ बाट नयाँ एक्सएसआर १५५ को लागि चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोर्क, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ ।

यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पीड गियरबक्स दिइएको छ ।

ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प र स्लीपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ । यदि यो मोटरसाइकल नेपाल आउने हो भने जावा र हस्कभर्नाका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ ।

पछिल्ला दिनमा एकपछि अर्को रेट्रो डिजाइनका मोटरसाइकल नेपाली बजारमा आइरहेका छन् । यस्तोमा यामाहाले पनि नयाँ मोटरसाइकल नेपाली बजारमा उतार्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top