कारको व्याट्रीले पूर्णरुपमा काम नगरे के गर्ने ? यस्ता छन् उपाय

काठमाडौं । तपाईको कार पेट्रोल वा डिजल जुन प्रकारको इन्धनबाट चल्ने भएता पनि कारमा व्याट्री पावरको अत्यावश्यक हुन्छ । कार स्टार्ट भईसकेपछि व्याट्री नभए पनि फरक पर्दैन । तर, कारको इन्जिनलाई सुरुमा स्टार्ट गर्न व्याट्रीको पावर विना लगभग असम्भव जस्तै हुन्छ ।

कारमा रहेको व्याट्री इन्जिन स्टार्ट भएपछि त्यहाँ रहेको व्याट्री चार्जरको सहयोगले आफैँ चार्ज हुने गर्छ । व्याट्री डिस्चार्ज भएता पनि अन्य उपाय अपनाएर कार स्टार्ट भएमा यसमा रहेको व्याट्री विस्तारै आफैँ चार्ज हुन थाल्छ ।

कहिले काहि गाडी सामान्य तरिकाले गुडिरहदा वा राती गाडी गुडाएर पार्किङ गर्दा पूर्णरुपमा लाइट निभाउन विर्सिएको अवस्थामा विहान उठ्दा कारको व्याट्री पूर्णरुपमा डिस्चार्ज भएको हुन सक्छ ।

तपाईको गाडी केहि वर्ष पुरानो भएको अवस्थामा पनि कहिले काहिँ हप्ता पन्ध्र दिनसम्म स्टार्ट नगरि ग्यारेजमा राखिरहँदा पनि यसमा रहेको व्याट्री पूर्णतया डिस्चार्ज हुन सक्छ । तर, केहि समय पार्क गर्दैमा मात्र व्याट्री डिस्चार्ज भएमा इलेक्ट्रीक वाईरिङ्ग सम्बन्धि समस्या भएको पनि हुन सक्छ ।

व्याट्री डिस्चार्ज भएमा स्टाटर चल्दैन फलस्वरुप गाडी स्टार्ट हुँदैन । यस्तो अवस्थामा गाडी स्टार्ट गर्नको लागि अर्को कारको व्याट्रीबाट लाइन तानेर जम्प स्टार्ट पनि गर्न सकिन्छ । यो नै गाडी स्टार्ट गर्ने सबैभन्दा सजिलो तरिका हो । गाडी स्टार्ट भइसकेपछि यदि व्याट्री सहि हालतमा छ भने विस्तारै आफैँ चार्ज हुँदै जान्छ ।

अर्को उपाय भनेको व्याट्रीलाई बाहिरी चार्जरबाट समेत चार्ज गर्न सकिन्छ । तर यसरी चार्ज गर्दा भने फुल चार्ज गर्नु उपर्युक्त हुन्छ र फुल चार्ज गर्न ७/८ घण्टासम्म लाग्न सक्छ ।

तर, व्याट्री काम नलाग्ने अवस्थामा पुगेको छ भने व्याट्रीले चार्ज नै लिदैन । यस्तो अवस्थामा व्याट्री नै परिवर्तन गर्नु पर्छ ।


Back_to_top