असोजमा मात्रै भित्रिए २१३४ युनिट ईभी, कम्बस्चन कारको आयातमा पनि उछाल

काठमाडौं । पछिल्लो एक महिना (असोज)मा मात्रै २ हजार बढी विद्युतीय कार (ईभी) आयात भएको छ । बजेट यता सुस्ताएको ईभी आयात दशैं, तिहार जस्ता चाडपर्वमा चम्किएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार असोज महिनामा मात्रै कुल २ हजार १३४ युनिट ईभी आयात भएको छ । जबकि चालु आर्थिक वर्षको साउन र भदौमा ४८६ युनिट मात्रै ईभी नेपाल भित्रिएको थियो ।

विभागका अनुसार चालु आव २०८२/८३ को ३ महिना (साउन-असोज)मा ६ अर्ब २५ करोड रुपैयाँ बराबरको कुल २ हजार ६२० युनिट विद्युतीय कार आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १०२ वटा धेरै हो । गत वर्ष ३ महिनामा कुल २ हजार ५१८ युनिट विद्युतीय कार आयात भएको थियो ।

चालु आवमा विद्युती कार आयात बापत सरकारले ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व पाएको छ । यस वर्ष चीनबाट ईभी आयात गर्ने मुख्य नाका रसुवागढी र तातोपानी बन्द हुँदा व्यवसायीले विकल्पमा कोरला नाकाबाट ल्याएका थिए । नेपालमा आयात हुने दुईतिहाई बढी ईभी चीनबाटै आयात हुन्छ ।

 कम्बस्चन कारको आयातमा उछाल

चालु आवमा ईभीको आयातमा झिनो वृद्धि भए पनि कम्बस्चन कारको आयातमा भने उछाल आएको छ । ३ महिनामा कम्बस्चन कार आयात गत वर्षकाे तुलनामा ६२.२२ प्रतिशतले बढेको हो ।

चालु आवमा कम्बस्चन कार आयात झण्डै ईभी हाराहारी नै पुगेको छ । ३ महिनामा २ अर्ब ५५ करोड रुपैयाँ बराबरको कुल २ हजार ३३६ युनिट कम्बस्चन कार आयात भएको छ । यो ईभीको तुलनामा २८४ वटा मात्रै कम हो । यस वर्ष कम्बस्चन कार आयातबाट सरकारले ६ अर्ब ५५ करोड रुपैयाँ राजस्व पाएको छ ।

चालु आवको ३ महिनामा कुल ४ हजार ९४६ युनिट कार आयात हुँदा कम्बस्चनको हिस्सा ४७ प्रतिशत पुगेको छ । जबकि, विगतमा ईभी र कम्बस्चन कारको हिस्सा ६५/३५ प्रतिशत हुने गर्थ्यो ।

बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । साथै, ईभी आयात प्रभावित हुँदा पनि कम्बस्चनको आयात वृद्धि भएकाे हो ।

हुन्डाईको वर्चश्व

चालु वर्ष कम्बस्चन कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ३ महिनामा कुल २३३६ युनिट इन्धन कार आयात हुँदा ४३.५४ प्रतिशत हिस्सा हुन्डाई एक्लैको रहेको छ ।

विभागको तथ्यांक अनुसार ३ महिनामा १ हजार १७ युनिट चारपाँग्रे अनएसेम्बल सवारी आयत भएको छ । नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


Back_to_top