कार बनाउने रेसमा थपियो टेलिभिजन बनाउने शार्प कम्पनी

काठमाडौं । १० वर्ष अगाडि कार उत्पादन धेरै कम्पनीको सोचाइमै थिएन । तर, विद्युतीय कारको तिब्र विकाससँगै टेक्नोलोजीसँग जोडिएर काम गर्दै आएका धेरै कम्पनी कार उत्पादनमा होमिए ।

अमेरिकी कम्पनी एप्पलदेखि जापानी कम्पनी सोनीले कार बनाउन लागेको चर्चाकै बीच चीनको टेक जाइन्ट साओमीले कार उत्पादन गरेर बिक्री नै थाल्यो । चीनमा हुवावे लगायतका कम्पनी पनि साझेदारीमा कार उत्पादनमै संग्लन छन् ।

अहिले आएर जापानी टेलिभिजन उद्योगको जाइन्ट मानिने शार्पले पनि विद्युतीय कार उत्पादन गर्ने विषयले चर्चा पाइरहेको छ । शार्पले आफ्नो विद्युतीय साधनको कन्सेप्ट सार्वजनिक गर्दै सन् २०२७ बाट बजारमा बिक्रीको लागि उपलब्ध गराउने घोषणा गरेको हो ।

कम्पनीले यसअघि २०२४ मै एउटा कन्सेप्ट देखाएको थियो । तर, त्यो प्रारम्भिक चरणकै कन्सेप्ट थियो । अहिले भने त्यसको परिपक्व मोडल जस्तो लाग्ने कन्सेप्ट देखाएको हो ।

जापानी कम्पनी शार्पमा ताइवानको कम्पनी फक्सकनको ६६ प्रतिशत हिस्सा रहेको छ । फक्सकन आफैँ पनि अटोमोबाइलको लागि आवश्यक प्रविधि विकासमा खटिएको कम्पनी हो । फक्सकनले सन् २०२५ मा मित्शुविसी कम्पनीसँग पनि सहकार्य सुरु गरेको छ । यस्तोमा शार्पले देखाएको कार कन्सेप्ट स्वभाविक मान्न सकिन्छ ।

अहिले नै धेरै कुरा बाहिर नआएपनि शार्पले उत्पादन गर्ने कार चिनियाँ उपभोक्ताको रुचीसँग जोडिने अनुमान गरिएको छ । यसमा प्रोजेक्टर र रोल डाउन स्कृन उपलब्ध हुनेछ । जुन चीनमा निकै प्रसिद्ध मानिन्छ ।

कम्पनीले ल्याउने पहिलो गाडी मिनी भ्यान हुनेछ । जुन लाइफ स्टाइल एमपीभीको रुपमा बजारमा आउँदा प्रविधिको लामो प्याक र लग्जरीको उच्च नमुना हुने अपेक्षा गरिएको छ ।

शार्पले नयाँ मिनी भ्यानलाई ८०० भोल्ट आर्किटेक्चरमा बनाउने छ । यसमा १०० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसले सिंगल चार्जमा डब्लूएलटीपी रेन्ज ६६० किलोमिटर दिने कम्पनीको दावी छ ।


Back_to_top