काठमाडौं । विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएल १५ वर्ष सर्भिस लाइफ भएको ब्याट्री लन्च गरेको छ । ‘टेकट्रयान्स’ नाम दिएर ल्याइएको नयाँ ब्याट्री इलेक्ट्रीक कमर्सियल बसहरुका लागि तयार पारिएको हो ।
प्यासेन्जर कारको तुलनामा कमर्शियल गाडीहरु धेरै गुणा बढि गुड्ने भएकोले लामो लाइफ भएको ब्याट्री प्याक बजारले मागिरहेको थियो । यहि क्रममा कम्पनीले १५ लाख किलोमिटरसम्म चल्ने ब्याट्री ल्याएको हो ।
सीएटीएलको टेकट्रयान बस एडिसन ब्याट्रीको सर्भिस लाईफ १५ वर्ष वा १५ लाख किलोमिटर रहेको कम्पनीले दावी गरेको छ । यो ब्याट्रीमा सीएटीएलले १० वर्ष वा १० लाख किलोमिटरको त वारेन्टीनै दिएको छ । कम्पनीको नयाँ ब्याट्रीमा १७५ वाटआवर प्रतिकेजी इनर्जी डेन्सीटी रहेको छ । जुन इलेक्ट्रीक बस उद्योगको सबैभन्दा धेरै हो ।

टेकट्रयान ब्याट्रीको अर्को राम्रो विशेषता भनेको आईपी ६९ रेटेड रहनु हो । आईपी ६९ रेटेड ब्याट्री ७२ घण्टासम्म पानीमा राख्दा पनि कुनै समस्या हुँदैन । टेकट्रयान ब्याट्रीलाई सुपर चार्जरको माध्यमबाट मात्र १२ मिनेटमा ६० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
सीएटीएलको यो नयाँ ब्याट्री प्रयोगका लागि युतोङ बस, गोल्डेन ड्रागन, डोङफेङ मोटर लगायत १३ वटा भेहिकल कम्पनीसँग सम्झौंता भइसकेको जनाएको छ । यो ब्याट्री ८० मोडलका गाडीमा प्रयोग हुनेछ ।
सीएटीएलको जनवरीदेखि अगस्टसम्मको ८ महिनामा चिनियाँ ईभी बजारमा ४६.२ प्रतिशत बजार हिस्सा रहेको छ ।
अहिले नेपालमा गुडिरहेका अधिकांश कमर्शियल गाडीमा सिएटीएलको ब्याट्री नै प्रयोग भएका छन् । यी ब्याट्रीमा बिक्रेताहरुले २ देखि ५ वर्षको वारेन्टी दिइरहेका छन् ।

