काठमाडौं । विद्युतीय कारमा लाग्ने हाइभोल्टेज ब्याट्री उत्पादक सीएटीएल र बीवाइडीको फिनड्रिम्स बीच प्राइसवार सुरु भएको छ । यी दुई चिनियाँ कम्पनीले निरन्तर ब्याट्रीको मूल्य घटाइरहेका हुन् ।
सन् २०२४ को सुरुवातसँगै विश्व ईभी बजार तुलनात्मक रुपमा ‘स्लो’ भएको कारण कम्पनीहरुले आफ्नो बजार हिस्सा सुरीषत गर्न मूल्य घटाउने प्रतिस्पर्धा सुरु गरेका हुन् ।
विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले १४८ एमएम लम्बाई २६.५ एमएम चौडाई र ९१ एमएम उचाई भएको भीडीए स्ट्याडर्ड साइजको ब्याट्री ०.४ आरएमबी वाट आवर मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ ।
कम्पनीको उक्त ब्याट्रीले २.२ सी फास्ट चार्जिङ सिस्टम सपोर्ट गर्छ । यसको मतलब ९० मिनेटमा यी ब्याट्री फुलचार्ज हुन सक्ने क्षमताका छन् । सीएटीएलले २सी क्षमताको ब्याट्री अझै कम मूल्यमा बिक्री गर्ने सक्ने जनाउ दिइसकेको छ ।
त्यस्तै बीवाइडीको ब्याट्री उत्पादक कम्पनी फिनड्रिम्सले पनि टेन्डर विडिङमा एकदमै सस्तो दरमा ब्याट्री सप्लाई गर्ने भएको छ । कम्पनीले सन् २०२४ मा नन् प्रडक्टिभ मेटेरियललाई म्यानेज गरी मूल्य अझै घटाउने संकेत दिएको हो ।
अघिल्लो वर्षको सुरुवातमा भीडीए साइजको एलएफपी ब्याट्रीको मूल्य ०.८ देखि ०.९ आरएमबी वाट आवरमा बिक्री भएकोमा २०२३ अगस्टमै घटेर ०.६ आरएमबी निर्धारण भएको थियो ।
प्रत्येक ०.१ आरएमबी वाट आवर मूल्य घट्नु भनेको ६० किलोवाट आवर ब्याट्री प्याक भएको ईभीको ब्याट्री लागत ६००० आरएमबी (८३३ डलर) कम हुनु हो ।
भीडीए साइज स्टयाण्डर्ड जर्मन कम्पनीहरुले सेट गरेका हुन् । ब्लेड ब्याट्री बाहेक सबै ब्याट्रीहरु भीडीए साइजमा उत्पादन हुने गरेका छन् । चीनमा भीडीए साइजको स्क्वायर सेपका ब्याट्रीको उत्पादन क्षमता अत्याधिक भएकाले यसको मूल्यमा प्रतिस्पर्धा अझै बढ्ने देखिन्छ ।
चिनियाँ ईभी निर्माता कम्पनी लिप मोटर्स स्रोतका अनुसार यसको मूल्य ०.३२ आरएमबी वाट आवरसम्म आउन सक्नेछ । यसरी ब्याट्री उत्पादक बीचको प्रतिस्पर्धाले ईभीको लागत कम हुने र ग्राहकले फाइदा पाउने देखिन्छ ।