सिजीले नबेच्ने भयो ‘फोर ह्वील ड्राइभ मिनी ईभी’, यस्तो छ कारण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याएको ‘जीयाङ्सु हाउजी अटो’को उत्पादन ‘आमाई’ मिनी ईभीको विक्री वितरण नहुने भएको छ । कम्पनीले ल्याएको ईभी नेपाली सडकमा परिक्षण गर्दा त्यति राम्रो रिजल्ट नआएको भन्दै कम्पनीले विक्री नगर्ने जनाएको हो ।

केहि दिन अघिमात्रै कम्पनीले केही युनिट आमाई मिनी ईभी नेपाल ल्याएर त्यसको परिक्षण सुरु गरेको थियो । यसलाई नेपालको सडकमा परिक्षण गर्दा चित्त बुझ्दो रेन्ज नदिएको र अपेक्षा गरिएको गुणस्तर नभएको भन्दै गाडी ल्याएर विक्री नगर्ने जनाएको छ ।

‘बाहिरबाट यो गाडी जति सुन्दर देखिन्छ, भित्र त्यति राम्रो पाइएन । सिजी सधैं ग्राहकको चाहना अनुसारको उत्पादन विक्रीलाई प्राथमिकतामा राख्ने कम्पनी भएको कारण आफैं सन्तुष्ट हुन नसकेको उत्पादन ल्याउने भन्ने हुँदैन’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले यो मिनी कार फोर ह्वील ड्राइभ सिस्टम सहित सहरी क्षेत्रका लागि केन्द्रित गर्दै नेपाल ल्याएको थियो । थ्री डोर अप्सनमा आएको मिनी कारमा ४ जना सहजै यात्रा गर्न सक्ने थियो । कम्पनीले यसमा १८.४३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको र सिंगल चार्जमा २२५ किलोमिटर रेन्ज पाउने बताएको भएपनि सडक परिक्षणमा त्यो पाउन नसकेको कम्पनीको भनाई छ ।

अगाडि र पछाडि नै मोटर दिइएको कारमा २४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर थियो । यसमा १५ इन्चको ठूलो ह्वील भएको कारण धेरै मानिस यसलाई हेर्न उत्सुक थिए । यसको मूल्य २३ लाख ९९ हजारमा विक्री गर्ने बताइएको थियो ।


Back_to_top